फेटा गोलीकाण्डको छानबिन तीव्र, इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
फेटा गोलीकाण्डको छानबिन तीव्र, इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए

बारा ,१५ कात्तिक। बाराको फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा छानबिन टोली गठन गरेको हो । समितिमा प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य रहेका छन् ।

समितिलाई घटनास्थलमै पुगेर विवाद उत्पन्न हुनुको कारण, झडपको अवस्था, प्रहरीले गोली चलाउनुपर्ने परिस्थिति तथा घटनामा प्रहरीको भूमिकाबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी ढकालका अनुसार छानबिनको काम तत्काल सुरु गरिनेछ । समितिले घटनाको सम्पूर्ण पक्ष अध्ययन गरी प्रतिवेदन बुझाउने उनले बताएका छन् ।

गत शनिवार फेटा गाउँपालिकाले सङ्घीय सरकारको अनुदानमा निर्माण गरेको १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा स्थानीय र प्रहरीबिच झडप भएको थियो । अस्पतालमा आवश्यक उपकरण, चिकित्सक तथा स्वास्थ्य सेवा सञ्चालनको तयारी नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले कार्यक्रमको विरोध गर्दै आएका थिए ।

विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि भएको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका थिए । उनको तिघ्रामा गोली लागेको थियो । उपचारका क्रममा शल्यक्रिया गरी गोली निकालिएको जनाइएको छ । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाका क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच जना प्रहरी घाइते भएका थिए भने प्रदर्शनकारीले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै करिब ९ देखि १० वटा मोटरसाइकलमा आगजनी गरेका थिए । अस्पतालको शिलालेखसमेत तोडफोड भएको थियो ।

यसैबिच, घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ भने उनको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई खटाइएको छ ।

अस्पताल उद्घाटनका क्रममा भएको विवादले हिंसात्मक रूप लिएपछि प्रहरीको सुरक्षा व्यवस्थापन र गोली चलाउने निर्णय प्रक्रियामाथि समेत प्रश्न उठेको छ ।

पीडित पक्षले गाउँपालिका अध्यक्षको निर्देशनमा प्रहरीले गोली चलाएको आरोप लगाउँदै आएको छ । यद्यपि, घटनाको वास्तविक कारण र प्रहरीको भूमिकाबारे छानबिन समितिको प्रतिवेदनपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस