१९ वर्षपछि पक्राउ परे पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (२ घण्टा अघि)
  • ४६ पटक पढिएको
१९ वर्षपछि पक्राउ परे पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त

रौतहट,१५ कात्तिक।  पत्रकार वीरेन्द्रकुमार साहको अपहरण तथा हत्या प्रकरणमा लामो समयदेखि फरार रहेका लालबहादुर चौधरी धामी बिहीबार बारा जिल्ला अदालतमा उपस्थित भएका छन् । अदालतले उनलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाउने आदेश दिएको छ ।

साहको हत्या तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यतिर २०६४ सालमा भएको थियो । एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध साहलाई असोज १८ गते बाराको साबिक उम्जन गाविसअन्तर्गत पिपरा बजारबाट अपहरण गरिएको थियो । उनीसँगै अपहरणमा परेका रामदेव दास पछि मुक्त भएका थिए ।

दासले प्रहरीलाई दिएको बयानका आधारमा अनुसन्धान अघि बढेको थियो । अपहरणको करिब ३५ दिनपछि, २०६४ कात्तिक २२ गते, साहको शव साबिक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकको जङ्गलमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानमा उनलाई गोली हानी हत्या गरिएको खुलेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ता लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनीको नाम अभियुक्तका रूपमा जोडिएको थियो । चौधरीलाई घटनाका मुख्य योजनाकारमध्ये एक रहेको आरोप लागेको छ ।

मनेजर गिरी र रामएकवाल सहनी क्रमशः २०६५ असोज १९ र पुस २१ गते पक्राउ परेका थिए । जिल्ला अदालतले २०६८ जेठ १६ गते उनीहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । बाँकी कैद मिनाहा भएपछि दुवै कारागारमुक्त भए ।

फरार रहेका नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहलस्थित घरबाट पक्राउ परेका थिए । हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए ।

बारा जिल्ला अदालतले २०७८ पुस २६ गते फौजदारलाई पाँच वर्ष र कुर्मीलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । उनीहरूले पनि सजाय भुक्तान गरेर कारागारमुक्त भइसकेका छन् ।

चौधरी भने अन्य अभियुक्त पक्राउ पर्दा पनि फरार थिए । २०७९ वैशाखमा सार्वजनिक विवरणमा समेत उनी फरार रहेको उल्लेख थियो । उनको पक्राउको माग पत्रकार महासङ्घ र पत्रकारिता क्षेत्रबाट हुँदै आएको थियो ।

साहको हत्यापछि महासङ्घले गठन गरेको छानबिन टोलीले २०६४ असोज २३ गते सार्वजनिक गरेको निष्कर्षमा तत्कालीन माओवादी कार्यकर्ताको संलग्नता औँल्याएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस