बाँदर भगाउने क्रममा भरुवा बन्दुक पड्किँदा एक जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १८, मंगलबार (१ घण्टा अघि)
  • ४२ पटक पढिएको
बाँदर भगाउने क्रममा भरुवा बन्दुक पड्किँदा एक जना घाइते

बारा,१७ कात्तिक।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ करिब ६ः३५ बजे स्थानीय ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर सोही ठाउँका ३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन्।

छर्रा लागेर घाइते भएका रमौलीको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे साँझ ६ः५० बजे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमान्डमा ७ जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक सञ्जयकुमार वर्माको कमान्डमा २ जना तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दायकृष्ण भट्टको कमान्डमा २२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गोविन्द ठाडा मगरलाई दुई नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका मगरमाथि इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस