अपहरणपछि बन्धक बनाइएका युवक मुक्त, चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ५, शुक्रबार (११ घण्टा अघि)
  • ६५ पटक पढिएको
अपहरणपछि बन्धक बनाइएका युवक मुक्त, चार जना पक्राउ

सर्लाही,०४ मंसिर। सर्लाही प्रहरीले अपहरण गरी बन्धक बनाइएका एक युवकलाई सकुशल उद्धार गरेको छ। अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने घटनालाई अतिरञ्जित गरी गलत सूचना फैलाएको आरोपमा थप दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ का ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका–२ स्थित फूलपरासीबाट अपहरण गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बरहथवा नगरपालिका–५ का ३१ वर्षीय सन्तोष कुमार महतोसहित ४/५ जनाको समूह दुईवटा मोटरसाइकलमा घटनास्थल पुगेको थियो। उनीहरूले रायलाई कुटपिट गर्दै जबर्जस्ती मोटरसाइकलमा राखेर बरहथवातर्फ लगेका थिए।

अपहरणमा परेका रायका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले तत्काल खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो।

सोही क्रममा कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरमा रहेको एउटा कोठाभित्र बन्धक बनाइएको अवस्थामा रायलाई प्रहरीले फेला पारेको थियो। प्रहरीले उनलाई सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न रहेको आरोपमा सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानलाई थप अघि बढाउने क्रममा प्रहरीले सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट थप तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ५४ वर्षीय विश्वेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो र २५ वर्षीय अमित कुमार महतो रहेका छन्।

वैदेशिक रोजगारीको विवादमा अपहरण, रकम असुलीको उद्देश्य

सर्लाही प्रहरीका अनुसार घटनाको थप अनुसन्धान गर्दा अपहरणमा परेका राय र आरोपितहरूबीच वैदेशिक रोजगारीसम्बन्धी आर्थिक विवाद रहेको खुलेको छ। सोही विवादमा रहेको रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले रायलाई अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिअनुसार घटनाका क्रममा फिरौती माग गरिएको तथा रकम तिर्ने क्रममा तीन लाख रुपैयाँ र गरगहनासमेत लुटिएको भन्दै गलत सूचना दिएर घटनालाई अतिरञ्जित गर्ने अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यसरी नियन्त्रणमा लिइएकाहरूमा बरहथवा नगरपालिका–१२ का ४२ वर्षीय रामनारायण यादव र ४० वर्षीया निलम देवी रहेका छन्।

अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका चारै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनालाई अतिरञ्जित गर्ने आरोपमा नियन्त्रणमा लिइएका अन्य दुई जनामाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस