राहदानी प्रक्रियामा धार्मिक आस्थामाथि हस्तक्षेप भएको भन्दै परिषद्को आपत्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ५, शुक्रबार (११ घण्टा अघि)
  • ५३ पटक पढिएको
राहदानी प्रक्रियामा धार्मिक आस्थामाथि हस्तक्षेप भएको भन्दै परिषद्को आपत्ति

पर्सा,०४ मंसिर। नेपाली नागरिकले राहदानी (पासपोर्ट) बनाउने क्रममा निधारको टीका, सिन्दूर पुछ्न तथा कपालको प्राकृतिक रङ परिवर्तन गर्न लगाइएको भन्दै विश्व हिन्दु परिषद् नेपालले आपत्ति जनाएको छ ।

विश्व हिन्दु परिषद् नेपालले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र पठाउँदै राहदानी बनाउने क्रममा धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका प्रतीक हटाउन लगाइएको भनिएको घटनाबारे गम्भीर ध्यानाकर्षण गराएको हो ।

परिषद्ले नेपाली समाजको मौलिक धर्म, संस्कृति, परम्परा, धार्मिक आस्था तथा सांस्कृतिक पहिचानको संरक्षण र संवर्द्धन गर्नु राज्यका प्रत्येक निकाय तथा जिम्मेवार पदाधिकारीको दायित्व भएको उल्लेख गरेको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण तथा अभ्यास गर्ने मौलिक हक प्रदान गरेको पनि पत्रमा स्मरण गराइएको छ ।

परिषद्का अनुसार राहदानी बनाउने क्रममा सम्बन्धित कर्मचारीबाट निधारमा लगाइएको टीका पुछ्न, महिलाहरूलाई सिन्दूर हटाउन तथा कपालको प्राकृतिक रङ परिवर्तन गर्न लगाइएको भन्ने विषय सार्वजनिक भएको छ । यस्तो व्यवहारले हिन्दु नागरिकको धार्मिक स्वतन्त्रता, सांस्कृतिक पहिचान र व्यक्तिगत सम्मानमाथि अनावश्यक हस्तक्षेप हुन सक्ने परिषद्को भनाइ छ ।

पत्रमा राहदानीजस्तो महत्त्वपूर्ण सरकारी सेवा प्राप्त गर्ने प्रक्रियामा कुनै पनि नागरिकलाई आफ्नो धार्मिक आस्था, सांस्कृतिक पहिचान वा मौलिक परम्परासँग जोडिएका प्रतीक हटाउन बाध्य पार्न नहुने उल्लेख गरिएको छ । राज्यका अधिकार र आवश्यकताका नाममा धार्मिक तथा सांस्कृतिक प्रतीकप्रति विभेदपूर्ण व्यवहार स्वीकार्य हुन नसक्ने परिषद्ले जनाएको छ ।

विश्व हिन्दु परिषद् नेपालले जिल्ला प्रशासन कार्यालयसमक्ष विभिन्न मागसमेत अघि सारेको छ । परिषद्ले घटनाको तत्काल निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न, यस्तो कार्यमा संलग्न कर्मचारी वा जिम्मेवार पदाधिकारीको पहिचान गरी प्रचलित कानुन तथा सेवासम्बन्धी आचारसंहिताअनुसार आवश्यक कारबाही गर्न माग गरेको छ ।

त्यस्तै, राहदानीका लागि खिचिने तस्बिरसम्बन्धी आधिकारिक मापदण्ड र कानुनी प्रावधानबारे स्पष्ट जानकारी सार्वजनिक गर्न तथा धार्मिक र सांस्कृतिक प्रतीक हटाउनुपर्ने कुनै अनिवार्य कानुनी व्यवस्था भए त्यसको स्पष्ट आधार र लिखित निर्देशन उपलब्ध गराउन परिषद्ले आग्रह गरेको छ ।

नेपाली नागरिकको धार्मिक आस्था, सांस्कृतिक पहिचान र मौलिक परम्पराको सम्मान गर्दै राहदानी सेवा प्रवाह गर्न सम्बन्धित कर्मचारीलाई आवश्यक निर्देशन दिनुपर्ने र भविष्यमा कुनै पनि नागरिकलाई धार्मिक तथा सांस्कृतिक पहिचानका कारण अपमानित वा विभेदित हुन नदिने प्रभावकारी व्यवस्था गर्नुपर्ने परिषद्को माग छ ।

परिषद्ले जिल्ला प्रशासन कार्यालयबाट यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरी आवश्यक सुधारात्मक कदम चाल्नसमेत आग्रह गरेको छ ।

पत्रको अन्त्यमा परिषद्ले नेपाली मौलिक धर्म, संस्कृति र पहिचानमाथि हुने कुनै पनि प्रकारको अनुचित हस्तक्षेप स्वीकार्य नहुने जनाउँदै धार्मिक स्वतन्त्रता र सांस्कृतिक पहिचानको सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

विश्व हिन्दु परिषद् नेपालका महानगर अध्यक्ष ज्योति रुद्रटाले हस्ताक्षर गरेको उक्त पत्र जिल्ला प्रशासन कार्यालय पर्सामा सम्बोधन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस