
सर्लाही,०८ मंसिर। सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलास अभियानका क्रममा सोमबार उनीहरूलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ ।
पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दाका एक जनालाई २ वर्ष कैद सजाय तोकिएका छन् भने ज्यान मार्ने उद्योग मुद्दाका पाँच जना, झैझगडा तथा कुटपिट मुद्दाका एक जना र आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दाका एक जना रहेका छन् ।
यसैगरी सवारी ज्यान मुद्दामा एक जनालाई एक वर्ष कैद र ४ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका र अर्का एकजना कर्तव्य ज्यान मुद्दा फरार अभियुक्त पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूमाथि कुल ३ वर्ष कैद र २ लाख ३९ हजार रुपैयाँ जरिवानाको सजाय बाँकी रहेको थियो । पक्राउ परेकामध्ये कर्तव्य ज्यान मुद्दाका एक जना र ज्यान मार्ने उद्योग मुद्दाका एक जनालाई पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
अन्य सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
