अब नयाँ संसद् भवनमा बस्ने बैठक, स्थानान्तरणबारे परामर्श

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ९, मंगलबार (२५ मिनेट अघि)
  • २८ पटक पढिएको
अब नयाँ संसद् भवनमा बस्ने बैठक, स्थानान्तरणबारे परामर्श

काठमाडौं,०८ मंसिर। संघीय संसद्को अबको अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्ने तयारी भएको छ ।

यसका लागि के कति सम्भव छ भनेर सोमबार सभामुख डोलप्रसाद अर्याल सहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणधिन भवनको अवलोकन गरेका थिए ।

अवलोकनमा सभामुख अर्यालसँगै निर्माण व्यवसायीका प्रतिनिधि, आयोजना हेर्ने पूर्वाधार मन्त्रालयका प्रतिनिधि, प्रतिनिधिसभा कार्यव्यवस्थाका अधिकारीहरू, प्रविधि व्यवस्थापन, आन्तरिक व्यवस्थापन, सुरक्षा व्यवस्थापनका अधिकारीहरू अवलोकनमा गएका थिए ।

अवलोकनपछि संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने, ‘१२ वटै भवनको समग्रतामा भौतिक प्रगति ९५ प्रतिशत छ । तर, संसद् बैठक राख्ने हलको मात्रै हेर्दा भौतिक निर्माणको प्रगति लगभग सकिएको छ । तर आन्तरिक सजावत र प्रविधि स्थापनाको काममा अझै थप सुधारको आवश्यकता देखिएको छ । उक्त कार्यहरूलाई सिघ्र सम्पादन गर्न भनिएको छ ।’

फिनिसिङको काम भइरहेकोले त्यसलाई सकाएर अबको संसद् अधिवेशन अन्तर्गतका बैठक नयाँ भवनमा राख्न सकिनेबारे छलफल चलिरहेको छ ।

प्रवक्ता गिरी भन्छन्, ‘आउँदो अधिवेशन नयाँ भवनमा चलाउने तयारी सहितको काम भइरहेको छ । तयारी पूरा भएको अवस्थामा अबका सुंद् बैठक नयाँ भवनमा बस्न सक्नेछन् ।’

सिंहदरबारभित्रै निर्माणाधीन संसद्को नयाँ भवन अत्याधुनिक सुविधासम्पन्न छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।

नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्नेवित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

नयाँ भवनमा सुविधा र साजसज्जामा कम्प्रमाइज गरिएको छैन । ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबि छ ।

साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाएइको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।

संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर छ ।

प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र छ ।

ताजा अपडेट

खोजी गर्नुहोस