गरुडा नगरपालिकामाथि प्रकाशित समाचारप्रति प्रमुख प्रशासकीय अधिकृत साहको आपत्ति, तथ्यहीन आरोपको खण्डन

गरुडा नगरपालिकामाथि प्रकाशित समाचारप्रति प्रमुख प्रशासकीय अधिकृत साहको आपत्ति, तथ्यहीन आरोपको खण्डन

रमेश कुमार यादब
मंसिर ०८, रौतहट
रौतहटको गरुडा नगरपालिकाको कामकारबाही, विकास निर्माण तथा सामाजिक विकास कार्यक्रमको बजेट खर्च र भुक्तानी प्रक्रियालाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। प्रमुख प्रशासकीय अधिकृत साहले सञ्चारकर्मीसँग कुराकानी गर्दै पछिल्लो समय नगरपालिकाको नाम जोडेर विभिन्न प्रकारका तथ्यहीन, भ्रामक तथा निराधार समाचारहरू सार्वजनिक भइरहेको भन्दै त्यस्ता समाचारको खण्डन गर्नुभएको हो।

उहाँले आफूले नगरपालिकाको कार्यभार सम्हालेदेखि हालसम्म प्रचलित कानुन, सरकारी मापदण्ड र निर्धारित प्रक्रियाअनुसार भएका कामको मात्रै भुक्तानी गर्ने गरेको दाबी गर्नुभयो। केही दिनयता विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम तथा लेखा शाखासँग सम्बन्धित कर्मचारीको काम जोडेर विकास निर्माण र सामाजिक विकासका कार्यक्रमको बजेट दुरुपयोग भएको भन्दै समाचारहरू प्रकाशित भइरहेकोप्रति आफू गम्भीर रहेको साहले बताउनुभयो। उहाँका अनुसार काम नै नभएको, सम्झौता नै नभएको तथा प्रक्रिया पूरा नभएका योजनाको भुक्तानी गरिएको भन्ने
आरोपमा कुनै सत्यता छैन।

प्रमुख प्रशासकीय अधिकृत साहले कुनै पनि योजना तथा कार्यक्रम सञ्चालन गर्दा आवश्यक प्रक्रिया पूरा गर्ने, प्राविधिक मूल्याङ्कन गराउने र कामको अवस्था तथा गुणस्तर जाँच गरेपछि मात्रै भुक्तानी दिने गरिएको स्पष्ट पार्नुभयो। गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको समेत स्थलगत अवस्था, कामको प्रगति र गुणस्तर प्राविधिक पक्षबाट जाँच तथा मूल्याङ्कन गराएर नियमानुसार भुक्तानी गरिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “मैले यस नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि अहिलेसम्म नियमसंगत र कानुनबमोजिम भएका कामको मात्रै भुक्तानी गरेको छु।

काम नै नभएको वा सम्झौता नै नभएको योजनामा भुक्तानी गरिएको भन्ने कुरा निराधार हो। यदि कसैले त्यस्तो अनियमितता भएको प्रमाण प्रस्तुत गर्न सक्छ भने कानुनी प्रक्रिया अगाडि बढाउन म तयार छु।” त्यस्तै, तालिम, जनचेतनामूलक कार्यक्रम तथा गोष्ठीका नाममा बजेट खर्च गरी अनियमितता गरिएको भन्ने आरोपको समेत उहाँले खण्डन गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार ती शीर्षकमा भुक्तानी भएको भन्ने समाचार तथ्यहीन रहेको छ ।

चालु आर्थिक वर्षमा हालसम्म तालिम सञ्चालनका लागि कुनै पनि व्यक्ति वा संस्थासँग सम्झौता नगरिएको र तालिमबापतको कुनै बाँकी बक्यौता रकमसमेत भुक्तानी नभएको उहाँले दाबी गर्नुभयो।साहले नगरपालिकामा नेपाल सरकारको प्रचलित मापदण्डविपरीत कर्मचारी नियुक्त गरी तलब खुवाइएको भन्ने विषयमा पनि आपत्ति जनाउनुभयो। करार तथा ज्यालादारीमा मनपरी नियुक्ति गरिएको र सरकारी रकमबाट अनियमित रूपमा तलब वितरण भइरहेको भन्ने आरोपमा सत्यता नरहेको उहाँको भनाइ छ ।

नगरपालिकाका कामकारबाही निर्धारित कानुनी व्यवस्था र सरकारी मापदण्डअनुसार नै सञ्चालन भइरहेको उहाँले स्पष्ट पार्नुभयो।सञ्चारमाध्यमलाई राज्यको चौथो अंगका रूपमा लिने गरिएकाले समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित विषयको सत्यतथ्य बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो। कसैको व्यक्तिगत प्रतिष्ठा तथा चरित्रमा आँच पुग्ने गरी अपुष्ट सूचना र मनगढन्ते विवरणका आधारमा समाचार सम्प्रेषण गर्नु उचित नहुने भन्दै उहाँले पत्रकारहरूलाई तथ्यमा आधारित र निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभयो।

“कुनै पनि विषयमा समाचार लेख्नुअघि सम्बन्धित पक्षसँग जानकारी लिनु र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्नु आवश्यक छ। लोकप्रियता कमाउने वा कसैको चरित्र हत्या गर्ने उद्देश्यले अपुष्ट समाचार सार्वजनिक गर्नु राम्रो अभ्यास होइन,” उहाँले भन्नुभयो।प्रमुख प्रशासकीय अधिकृत साहले आफू तथा नगरपालिकाका कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित भएर सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गर्दै आएको पनि बताउनुभयो।

नगरपालिकाबाट हुने प्रशासनिक तथा आर्थिक कारोबार कार्यालयबाटै सञ्चालन भइरहेको र आफू कार्यालयमै बसेर कामकाज तथा भुक्तानी प्रक्रियाको जिम्मेवारी निर्वाह गर्दै आएको उहाँको भनाइ छ।उहाँले नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक कारोबारका विषयमा कुनै पनि व्यक्ति वा निकायसँग प्रमाण भए सम्बन्धित कानुनी निकायमा उजुरी गर्न सक्ने बताउँदै आरोप प्रमाणित भए कानुन बमोजिमको सजाय भोग्नसमेत आफू तयार रहेको दाबी गर्नुभयो ।

अन्त्यमा उहाँले गरुडा नगरपालिकाका नगरवासी, सेवाग्राही तथा सम्बन्धित सरोकारवाला निकायलाई सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आउने अपुष्ट, भ्रामक तथा निराधार सूचनाको पछि नलाग्न आग्रह गर्नुभयो। नगरपालिकाबाट भइरहेका कामकारबाहीलाई तथ्य र प्रमाणका आधारमा मूल्याङ्कन गर्नुपर्ने उल्लेख गर्दै विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि नगरपालिका प्रतिबद्ध रहेको उहाँले दोहो¥याउनुभयो।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस