अख्तियारको दाबी : विमानस्थल घुसकाण्डबाट क्यान महानिर्देशकले किने जग्गा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १७, आईतबार (१२ घण्टा अघि)
  • २९ पटक पढिएको
अख्तियारको दाबी : विमानस्थल घुसकाण्डबाट क्यान महानिर्देशकले किने जग्गा

काठमाडौं, १७ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठाँउका विमानस्थल निर्माणको ठेक्काबाट घुस संकलन भएको र त्यसबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले जग्गा किनेको दाबी गरेको छ ।

अख्तियारका अनुसार विशेष अदालतमा पेस गरेको कागजात अनुसार, करिब तीन दर्जन भन्दा बढी मझौला र साना प्रकृतिका ठेक्कामा करिब एक प्रतिशतका दरले घुस संकलन भएको देखिन्छ । त्यसरी संकलित रकम प्रयोग गरेर अधिकारीले आफ्नी पत्नीको नाममा १३ आना जग्गा किनेका हुन् ।

क्यान महानिर्देशक अधिकारी २०६८ सालदेखि एक दशकसम्म विभिन्न आयोजनाको जिम्मेवारी र पदमा थिए । त्यही सिलसिलामा उनले २०७५ सालमा श्रीमती सुफल केसीको नाममा १३ आना जग्गा किनेका थिए । त्यो जग्गा ती आयोजनाबाट प्राप्त घुसको व्यवस्थापनको सिलसिलामा किनिएको अख्तियारको जिकिर हो ।

किन्ने अधिकारी, भुक्तानी गर्ने अर्कै

अख्तियारले विशेष अदालतमा पेस गरेको आरोपपत्र अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेका बेला अधिकारीले श्रीमती सुफल केसीका नाममा क्यानडामा बस्ने सूर्य ताम्राकार र रजनी श्रेष्ठ (ताम्राकार) बाट ललितपुरमा १३ आना जग्गा किनेका थिए ।

मालपोत कार्यालय, ललितपुरमा उनीहरूले ९१ लाख रुपैयाँको लिखत पेस गरेर त्यति रकममा कारोबार भएको देखाइ विवरण बुझाएका थिए ।

उनीहरूले सूर्य र रजनी ताम्राकारको खातामा पनि त्यति नै रकम भुक्तानी गरेको भनी मालपोत कार्यालयमा चेकको विवरण समेत पेस गरेका थिए ।

तर जग्गा बिक्री हुँदा सूर्य र रजनी दम्पतीको खातामा त्यो बाहेकको रकम पनि भेटियो । अख्तियारले विशेष अदालतमा पेस गरेको कागजातमा ठेकेदारहरू बासु खड्का, प्रेमप्रकाश ढकाल र ध्रुवप्रसाद तिमल्सिना अनि उनीहरू आवद्ध उमा एन्ड कम्पनी र तुलसी कन्स्ट्रक्सनबाट रकम भुक्तानी भएको थियो ।

सूर्य र रजनी दम्पती आफूले जग्गा बेचेपछि प्रदीप अधिकारीको परिवार बाहेकबाट एक करोड ७१ लाख रुपैयाँ लिएको स्विकारेका छन् र अख्तियारको दाबीमा त्यो रकम ‘घुस’ हो ।

‘घुसको रकम जग्गामा’

उमा एन्ड कम्पनी प्रालि र गायत्री निर्माण सेवाले नेपाल नागरिक उड्डयन प्राधिकरण र त्यसअन्तर्गत देशभर रहेका विभिन्न आयोजनामा मझौला र खुद्रे ठेक्काहरू पाएको विशेष अदालतमा पेस गरेको कागजातहरूबाट देखिन्छ ।

बासु खड्का, प्रेमप्रकाश ढकाल र ध्रुवप्रसाद तिमल्सिना उमा एन्ड कम्पनीका सञ्चालकहरू हुन् । लेनदेनमा जोडिएका अर्का व्यक्ति राजन खड्का उमा एन्ड कम्पनीका कर्मचारी हुन् । उनीहरूले अधिकारी दम्पतीलाई जग्गा बेच्ने रजनी श्रेष्ठ र सूर्य ताम्राकारलाई पटकपटक गरी एक करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको अख्तियारको आरोप हो ।

अख्तियारको दाबी अनुसार, देशभरका विभिन्न विमानस्थलमा निर्माणका कामहरू गर्दा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले घुस बापत रकम पाउनुपर्ने हिसाबकिताब भएको थियो ।

आफूले पाउनुपर्ने रकम जग्गा बेच्ने रजनी र सूर्य ताम्राकार दम्पतीको खातामा भुक्तानी गर्न लगाएको र उनीहरूबाट नाममात्रैको रकममा जग्गा किनेको अख्तियारको दाबी हो । कुल दुई करोड ७५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा मालपोतमा ९१ लाख रुपैयाँको मूल्यांकन (थैली देखाएर) किनबेच भएको र बाँकी रकम घुसबापत व्यवस्थापन भएको अख्तियारको दाबी हो ।

‘सहकार्य र सहयोग हो’

अख्तियारमा बयान गरेका दुई कम्पनीका सञ्चालकहरूले विभिन्न ठाँउमा आफूहरूले ठेक्का पाएको र त्यसक्रममा सहकार्य र सहयोग बापत जग्गाको रकम तिरिदिएको बयान गरेका छन् । अख्तियारमा बयान गरेका बासु खड्काले महानिर्देशक अधिकारीसँगको सहकार्य र सहयोगमा प्राधिकरण र मातहतका निकायहरूको ठेक्का पाएको बयान गरेका छन् ।

उनले त्यसको सहजीकरणका लागि प्रेमप्रकाश ढकालले जग्गा बेच्ने ताम्राकार दम्पतीको खातामा कयौं पटक गरी रकम ट्रान्सफर गरिदिएको स्वीकारेका छन् । उनका अनुसार, ढकालले आफू आबद्ध कम्पनीहरूबाट एक करोड ४९ लाख रुपैयाँ सूर्य ताम्राकारको बैंक खातामा रकम पठाएका थिए ।

उनले बयानमा भनेका छन्, ‘ठेक्कापट्टामा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी अधिकारीले विभिन्न समयमा ठेक्का प्राप्ति तथा सञ्चालनमा सहजीकरण तथा सहयोग गरे बापत प्रदीप अधिकारी र प्रेम प्रकाश ढकालले भने बमोजिम खातामा रकम दाखिला गरेको हो ।’

ठेकेदार कम्पनीका अर्का सञ्चालक ध्रुवप्रसाद तिमल्सिनाका अनुसार, नागरिक उड्डयन प्राधिकरणबाट उनीहरूले ३३ वटा ठेक्कामा करिव तीन अर्ब जति लागतका आयोजनाको काम गरेका थिए । उनले बयानमा ‘आगामी दिनको ठेक्काको सहजीकरणका लागि प्रदीप अधिकारीले भने बमोजिमको खातामा रकम दाखिला गरेको साँचो हो’ भनी स्वीकारेका छन् ।

‘अरूको कारोबार म जान्दिन’

यसअघि नै श्रृङखलावद्ध रूपमा भ्रष्टाचार मुद्दा खेपिरहेका क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले बयानका लागि बोलायो । उनले आफूले ९१ लाख रुपैयाँमा नै जग्गा किनेको र त्यसरी जग्गा किन्दा भुक्तानी गरेको रकम आफ्नो वैध स्रोत भएको दाबी गरे ।

उनले आफूलाई जग्गा बेच्ने व्यक्तिले अरूसँग गरेको कारोबारमा आफू जवाफदेही र जिम्मेवार हुन नसक्ने बयान दिए ।

‘जग्गा खरिद गर्दा ९१ लाख मैले भुक्तानी गरेको छु र वैधानिक स्रोतबाट रकम गएको छ,’ उनले बयानमा भनेका छन्, ‘असम्बन्धित व्यक्तिहरूबीच भएको कारोबारको विषयमा मलाई जानकारी हुने कुरा भएन र उनीहरूबीचको कारोबारहरूका कानुनी पक्षहरूको जिम्मेवारी निजहरूको नै हुने हो ।’

‘रकम अर्कैले दिएका हुन्’

जग्गा बेच्ने रजनी र सूर्य ताम्राकार दम्पतीले सुरुमा बैंकमा रोक्का रहेको जग्गा फुकुवा गर्न आफूहरूले ती व्यक्तिबाट सरसापटी लिएको दाबी गरे ।

तर ठेकेदारहरूले वास्तविकता खोलेपछि भने उनीहरूले ततिम्बा(दोहोर्‍याएर गरिएको बयान) बयानमा ठेकेदारबाट जग्गाकै पैसा पाएको स्विकारे । उनीहरूले क्यानडाबाट नै गरेको बयान अनुसार, ‘(महानिर्देशक) प्रदीप अधिकारीले भने अनुसार नै उनीहरूले ठेकेदार कम्पनी र तिनका सञ्चालकहरूबाट जग्गाको रकम भुक्तानी पाएका हुन् ।’

उनीहरूका अनुसार, त्यो जग्गा आनाको ३० लाख ५० हजार रुपैयाँका दरले १३ आना जग्गा किन्ने तर फिल्डमा नाप्दा यकिन हुने जग्गाको क्षेत्रफलको रकम मात्रै दिने तय भएको थियो ।

मूल्यांकनकर्ताले जग्गाको निरीक्षण गर्दा तीन करोड ३४ लाखको मूल्यांकन भएको थियो । त्यो मध्ये दुई आना बाटोमा जाने भएपछि दुई करोड ७५ लाख रुपैयाँ मात्रै भुक्तानी गर्ने सहमति भएको उनीहरूले बयानमा खोलेका छन् ।

र, मालपोतमा कारोबर देखाउँदा भुक्तानी हुने ९१ लाख रुपैयाँ बाहेकको बाँकी रकम उमा एन्ड कम्पनी, त्यसका सञ्चालक बासु खड्का, प्रेमप्रकाश ढकाल, ध्रुवप्रसाद तिमल्सिना अनि कर्मचारी राजन खड्काबाट भुक्तानी भएको थियो ।

 ‘पत्नीमाथि अनुसन्धान गर्न मिलेन’

अख्तियारले अधिकारीकी पत्नी एवं जग्गाधनी सुफल केसीलाई बयानका लागि बोलाएको थियो र त्यसक्रममा उनको घरमा म्याद तामेल भएको थियो । तर ११ असार, २०८३ मा नेपाली सेनाको सैनिक प्रहरी गण, जंगी अड्डाले सुफल केसी नेपाली सेनाको सैनिक अधिकारी भएको खुलाएर अख्तियारमा पत्र पठायो ।

त्यसपछि अख्तियारले नेपालको संविधानको धारा २३९ र सैनिक ऐन, २०६३ उदृत गर्दै केसीलाई सैनिक प्रहरी गण, जंगी अड्डामा नै फिर्ता पठाइदियो ।

अख्तियारले उनको साथ तयार पारेको पत्रमा भनिएको थियो, ‘सुफल केसीको हकमा नेपालको संविधानको धारा २३९ तथा सैनिक ऐन, २०६३ समेतको प्रचलित कानुन आकर्षित हुनसक्ने देखिएको हुँदा हाल निज सुफल केसीलाई सैनिक प्रहरी गण, जंगी अड्डा, काठमाडौंमा यसै पत्र साथ फिर्ता पठाइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’

संविधानको धारा २३९(१)को प्रतिबन्धात्मक व्यवस्थामा ‘संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारी र अन्य कानुनले छुट्टै विशेष व्यवस्था गरेको पदाधिकारीका हकमा’ अख्तियारले अनुसन्धान गर्न नसक्ने उल्लेख छ । अख्तियारले सैनिक अधिकारीहरूमाथि अनुसन्धान गर्न सक्दैन । त्यसका लागि जंगी अड्डाले नै अनुसन्धान गर्ने र कसुर देखिए सैनिक अदालतमा मुद्दा चलाउने अभ्यास छ ।

‘तीन अर्बको ठेक्का’

अख्तियारको दाबी अनुसार, प्रदीप अधिकारीले किनेको जग्गाको रकम भुक्तानी गर्ने कम्पनी र तिनका सञ्चालकहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट करिब तीन अर्ब रुपैयाँभन्दा बढीको ठेक्का पाएका थिए, जसको सहजीकरण तिनै अधिकारीले गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनलदेखि विभिन्न साना र मझौला निर्माणको काम पाएको उमा एन्ड कम्पनीले त्यहाँमात्रै करिब एक दर्जनजति ठेक्का पाएको थियो ।

त्यसबाहेक जनकपुर, धनगढी, रारा, कालिकोट र नलिञ्चोकको एयरपोर्ट निर्माणको ठेक्का पनि उमा कम्पनीले नै पाएको थियो ।

उमा सहितको अर्को कम्पनीले पोखराको रिट्ठेपानी डाँडा काट्ने र जमिन सम्याउने ठेक्का पाएका थिए । अख्तियारले पोखरा विमानस्थलका भ्रष्टाचार मुद्दाहरूमा रिट्ठेपानीको हकमा छुट्टै दाबी नगरेपछि डेढ वर्षअघि सार्वजनिक लेखा समितिले त्यहाँको ३२ करोड खर्चलाई शंकास्पद भनेको थियो ।

विमानस्थलको धावनमार्गको उचाई बढाउनुको साटो त्यसको साटो अघिल्तिरको छिनेडाँडा काट्ने काम गलत भएको भन्दै लेखा समितिले त्यसको खर्च ठेकेदारले बेहोर्नुपर्नेमा नागरिक उड्डयन प्राधिकरणले खर्च गरेकोमा प्रश्न गरेको थियो ।

‘घुस, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण’

अख्तियारले अधिकारीमाथि मात्रै यसअघि चारवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । पाँचौं मुद्दामा उसले अधिकारीमाथि जग्गा किन्दा बास्तविक कारोबार लुकाएर घुस लिएको र त्यो रकम तेस्रो व्यक्तिमार्फत व्यवस्थापन गरेको भनी सम्पत्ति शुद्धीकरणको आरोप समेत लगाएको हो ।

अख्तियारले प्रदीप अधिकारी सहित उनलाई रकम व्यवस्थापन गर्ने प्रेमप्रकाश ढकाल र उनको गायत्री निर्माण सेवामाथि समेत सम्पत्ति शुद्धिकरण गरेको आरोप लगाएको हो । उनीहरूमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी भएको छ ।

अख्तियारले त्यो कारोबार बाहेक प्रदीप अधिकारी र उनकी पत्नी सुफल केसीले थप १३ लाख रुपैयाँ ताम्राकार परिवारलाई बुझाएको दाबी गरेको छ, त्यसको विस्ततृ विवरण भने मुद्दाको मिसिलमा संलग्न गरेको छैन ।

‘नागरिक उड्डयन प्राधिकरणसँगको ठेक्कापट्टाका अरू कारोबारमाथि समेत छानबिन चलिरहेको छ, तर अहिले भेटिएको कारोवारका कारण जग्गाको मुद्दा मात्रै दायर भएको हो’ अख्तियारसम्बद्ध स्रोतले भन्यो, ‘हामीले विशेष अदालतमा पेश गरेको आरोपपत्रमै अरू विभिन्न विषयमा अनुसन्धान भइरहेको भनेर विवरण पेस गरेका छौं ।’

अख्तियारले विशेष अदालतमा पेस गरेको आरोपपत्रमा पूर्वमहानिर्देशक अधिकारीले घुस (भ्रष्टाचार) बाट प्राप्त सम्पत्तिको तहगत व्यवस्थापन गरेको आरोप लगाएको छ । उसको दाबीमा, त्यो काम सम्पत्ति शुद्धीकरणको कसुर हो ।

प्रदीप अधिकारीले गैरकानुनी रूपमा सम्पत्ति प्राप्त गरेको, त्यो सम्पत्तिलाई विभिन्न तहमा लुकाएर व्यवस्थापन गर्न खोजेको र गैरकानुनी स्रोतबाट प्राप्त सम्पत्तिको एकीकरण गरेको अख्तियारको आरोप हो । अख्तियारले अधिकारी र ठेकेदारहरूबारे आरोपपत्रमा भनेको छ, ‘भ्रष्टाचारजन्य कसुरबाट प्राप्त सम्पत्तिलाई अचल सम्पत्तिमा रूपान्तरण गरी वैध कारोबार एकीकरण गरे गराएको पुष्टि हुन आयो ।’

ताजा अपडेट

खोजी गर्नुहोस