अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर परिसरबाहिर शंकास्पद गाडी भेटियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २९, सोमबार (२ घण्टा अघि)
  • ३२ पटक पढिएको
अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर परिसरबाहिर शंकास्पद गाडी भेटियो

काठमाडौं, २९ असार। अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । कार्यालयहरू प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो ।

एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको छ । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका छन् । कसले यस्तो गर्‍यो भन्ने अहिले सम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपपी तथा प्रवक्ता पवन भट्टराईले शंकास्पद गाडीहरूलाई कार्यालयमा ल्याएर छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाउने बताएका छन् । कसले किन गर्‍यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

मिडियाहरूको आवत जावतमा अवरोध गर्ने गरी शंकास्पद रुपमा पार्किङ गरिएको घटनाको सरोकारवालाहरूले चासो प्रकट गरेका छन् ।

पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।

‘आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद गाडी पार्किङ गरी पत्रकारलाई आवत-जावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा छ,’महासंघ तत्काल गाडीको अवरोध हटाई संचारकर्मी र संचारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसंग जोडदार माग गर्दछ ।’

महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुऱ्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष निर्मला शर्मा सहितको टोलीले अनलाइनखबर लगायत हाउसमा गएर स्थितिको निरीक्षण गरेको छ । शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको भएको भन्दै पत्रकार र मिडिया हाउसको सुरक्षाका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गरेकी छन् ।

त्यस्तै अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले पत्रकारहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण तयार गर्न भूमिका खेल्नका लागि महासंघको टोलीलाई आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस