ओलीको आरोप : सरकारका कारण देशको स्वाधीनता नै संकटमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
  • ४३ पटक पढिएको
ओलीको आरोप : सरकारका कारण देशको स्वाधीनता नै संकटमा

काठमाडौं,१२ कात्तिक। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारविरुद्ध आक्रमक रूपमा प्रस्तुत भएका छन् ।

तीन सातापछि राष्ट्रिय भेला बोलाएर एमालेले पार्टी नेता–कार्यकर्ता मार्फत आन्दोलनको पक्षमा जनमत सिर्जना गर्ने प्रयास गरिरहेका वेला ओली बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।

आगामी २ र ३ मंसिरमा राष्ट्रिय भेला बोलाएर तीन हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी कार्यक्रममार्फत एमालेले आन्दोलन र स्थानीय चुनाव दुवैको तयारी समानान्तर रूपमा अगाडि बढाउने प्रयास गरिरहेको छ । कार्यक्रममा उनले नेपाल अहिले स्वतन्त्रता र राष्ट्रिय स्वाधीनता नै बन्धक बनेको अवस्थामा रहेको विषय उठान गर्दै आन्दोलनका लागि तयारीमा लाग्न पार्टीपंक्तिलाई निर्देशित गरे ।

‘हामी स्वतन्त्रताको उपयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौँ । हामी आन्दोलनकारी ढंगबाट अगाडि बढ्नुको विकल्प छैन । अहिले होस् कि भोलि होस् कि तिहार, छठपछि होस् हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ । भित्रभित्रै तयारी अवस्थामा बस्नुपर्छ,’ उनले भने ।

ओलीले देशलाई स्वतन्त्रता र स्वाधीनता प्रयोग गर्न सक्ने अवस्थामा फर्काउन पनि आन्दोलनको विकल्प नभएको भनाइ राखे । ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ उनले भने ।

देशमा कोही पनि बोल्नै नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको, गुन्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको उनको भनाइ थियो ।

एमाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाई आधुनिक नेपाल निर्माणको महान् लक्ष्य लिएर अगाडि बढिरहेको हुँदा देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउनुपर्ने अभिभारा पनि एमालेकै काँधमा आएको अध्यक्ष
ओलीले बताए ।

पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध र अनुशासित ढंगले अगाडि बढ्दा मात्र कार्यकर्तामा उत्साह भर्न सकिने, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन सकिने र उपरोक्त अभिभारा पूरा गर्न सकिने उनको भनाइ थियो ।

गत वर्ष २१ फागुनमा भएको निर्वाचन प्रतिगमनको योजनाबद्ध दोस्रो शृंखला भएको बताउँदै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

यद्यपि, चुनावमा एमालेलाई फेरि पनि हराउन खोजिएकाले सचेत हुनुपर्ने उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस