अपराध अनुसन्धान कार्यालयलाई ७ कसुरमा मुद्दा चलाउने अधिकार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
  • ३३ पटक पढिएको
अपराध अनुसन्धान कार्यालयलाई ७ कसुरमा मुद्दा चलाउने अधिकार

काठमाडौं, ३१ साउन। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अब मुद्दा समेत आफैं चलाउने अख्तियार प्राप्त गरेको छ ।

अपराध अनुसन्धान कार्यालयले लामो प्रयासपछि आफूले अनुसन्धान गरेका विशेष प्रकृतिका मुद्दाको अनुसन्धान आफैं चलाउने भएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काअनुसार १ साउनदेखि मुद्दा चलाउने अधिकार प्राप्त भएको छ ।

यसअघि भने अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेका तथा पक्राउ गरेका व्यक्तिहरूलाई मुद्दा चलाउनका काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रहरी परिसर र वृत्तहरूमा पठाउँदै आएको थियो । त्यसपछि ती युनिटहरूले मुद्दाको प्रक्रिया अघि बढाउँथे ।

तर एउटा कार्यालय अनुसन्धान गर्ने र अर्को कार्यालयले मुद्दाको प्रक्रिया अघि बढाउँदो दोहोरोपन हुने र मुद्दाको प्रक्रिया समेत फितलो हुने भन्दै यसअघि पनि अपराध अनुसन्धान कार्यालयले पटक पटक मुद्दा चलाउने अधिकार माग गर्दै आएको थियो ।

‘आफूले अनुसन्धान गरेर व्यक्ति पक्राउ गरेपछि मुद्दाको प्रक्रिया पनि त्यही कार्यालयबाट गर्दा राम्रो हुन्छ । नत्र एउटा कार्यालयले समात्ने, अनुसन्धान अनि अर्को कार्यालयले मुद्दाको प्रक्रिया अघि बढाउँदै मुद्दा नै फितलो हुनसक्ने जोखिम उच्च हुन्छ’ एक अनुसन्धान अधिकृत भन्छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै अब अपराध अनुसन्धान कार्यालयले आफैंले मुद्दा चलाउने अधिकार पाएको छ । अपराध अनुसन्धान कार्यालयले मुद्दा चलाउने अधिकार माग गरेको विषया उपत्यका प्रहरी कार्यालय रानीपोखरी हुँदै प्रहरी हेडक्वाटर पुगेको थियो ।

हेडक्वाटरमा बसेको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) बाट निर्णय गराएर अपराध अनुसन्धान कार्यालयलाई मुद्दा चलाउने अधिकार दिइएको हो ।

‘अपराध अनुसन्धान कार्यालयबाट गठित स्थलगत निरीक्षण समितिको विश्लेषणात्मक पुष्ट्याइँसहितको प्रतिवेदन मनासिव देखिएकाले आश्वयकता र औचित्यतताको आधारमा निम्न बमोजिम मुद्दाहरू १ साउनदेखि जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन स्वीकृति प्रदान गरिएको छ’ निर्णयमा भनिएको छ ।

पीसीसीबाट निर्णय भएको उक्त विषय अपराध अनुसन्धान विभाग हुँदै अहिले अपराध अनुसन्धान कार्यालय टेकु पुगेर कार्यान्वयमा आइसेको छ । योसँगै अब विभिन्न सात प्रकारका मुद्दा अनुसन्धान गरेर आफैं मुद्दा चलाउने अधिकार प्राप्त भएको एसएसपी खड्काले बताए ।

जसमा हातहतियार तथा खरखजना सम्बन्धी कसुर, बिस्फोटक पदार्थ सम्बन्धी कसुर, व्यक्ति वेपत्ता पार्ने सम्बन्धी कसुर, अपहरण तथा शरीरर बन्धक सम्बन्धी कसुर, डाँका गर्न नहुने सम्बन्धी कसुर, ठगी आपराधिक विश्वासघात सम्बन्धी कसुर (जसमा १ करोड भन्दा माथि बिगो भएको मात्रै) र मुद्रासम्बन्धी कसुर छन् ।

मुद्दा चलाउने अधिकार प्राप्त भएसँगै अपराध अनुसन्धान कार्यालयले पहिलो मुद्दाको रूपमा शुक्रबार मात्रै अपहरण तथा शरीर बन्धकको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ । जसमा एक युवकलाई अपहरण गरेर बन्धक बनाउँदै फिरौती माग गरिएको बताइएको छ । यो घटनामा अदालतले ६ दिनको म्याद समेत दिएको छ ।

विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा हुने ठूला तथा जघन्य प्रकृतिका मुद्दाहरूको अनुसन्धान गर्ने जिम्मा अपराध अनुसन्धान कार्यालयलाई छ । अन्य युनिटहरू नसकेका घटनाहरूको अनुसन्धान यो कार्यालयले गर्दै आएको छ । सोही अनुसार अहिले ठूला प्रकृतिका अपराधको मुद्दा चलाउने जिम्मेवारी मात्रै यो कार्यालयलाई दिइएको छ ।

देशभर नेपाल प्रहरीका २ हजार ६६० इकाईहरू छन् । ती मध्ये अहिले २३१ प्रहरी कार्यालयबाट मुद्दा चल्छन् । अब अपराध अनुसन्धान कार्यालयले समेत मुद्दा चलाउने अधिकार दिएँसै मुद्दा चल्ने युनिटको संख्या २३२ पुगेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस