अब जुनसुकै शाखाबाटै बैंक खाता बन्द गर्न मिल्ने, राष्ट्र बैंकको नयाँ व्यवस्था अन्तिम चरणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १६, मंगलबार (१३ घण्टा अघि)
  • ५१ पटक पढिएको
अब जुनसुकै शाखाबाटै बैंक खाता बन्द गर्न मिल्ने, राष्ट्र बैंकको नयाँ व्यवस्था अन्तिम चरणमा

काठमाडौं, १६ असार। बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सहज भए पनि खाता बन्द गर्न भने अनिवार्य रूपमा खाता खोलिएको मूल शाखामै पुग्नुपर्ने व्यवस्थाका कारण वर्षौँदेखि ग्राहकले सास्ती भोग्दै आएका छन् । विशेषगरी अध्ययन, रोजगारी वा बसाइसराइका कारण अर्को जिल्ला वा सहरमा बसोबास गरिरहेका ग्राहकलाई सामान्य खाता बन्द गर्नकै लागि सयौँ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

एक ग्राहकले धेरै बैङ्कमा खाता भए पनि बन्द गर्न खाता खोलिएकै शाखामा जानुपर्ने झन्झटले समस्या भइरहेको बताए । “धेरै बैङ्कका खाता छन्, तर बन्द गर्न खाता खोलिएकै ठाउँमा जानुपर्दा समस्या भएको छ,” उनले भने ।

यस विषयमा विभिन्न बैङ्कसँग सम्पर्क गर्दा केही बैङ्कहरूले खाता खोलेकै शाखामा उपस्थित हुनुपर्ने बताए भने केहीले भने जुनसुकै शाखाबाट पनि खाता बन्द गर्न सकिने जानकारी दिएका छन् । शाखा अनुसार फरक–फरक अभ्यास हुँदा ग्राहक अन्योलमा परेका छन् ।

राष्ट्र बैङ्कमा बढ्दै गुनासा

बैङ्क खाता बन्द गर्ने प्रक्रियासम्बन्धी गुनासाहरू नेपाल राष्ट्र बैङ्कमा बढ्दै गएका छन् । राष्ट्र बैङ्ककी सहायक सूचना अधिकारी सुधा श्रेष्ठका अनुसार यस विषयमा उल्लेख्य मात्रामा गुनासा तथा जिज्ञासा आएका छन् ।

उनले हालसम्म खाता जहाँबाट खोलिएको हो त्यहीँ शाखाबाट मात्र बन्द गर्नुपर्ने वा अन्य शाखाबाट पनि गर्न सकिने भन्ने विषयमा राष्ट्र बैङ्कले स्पष्ट निर्देशन जारी नगरेको बताइन् । “हाल लागू व्यवस्थाअनुसार खाता बन्द गर्दा कुनै शुल्क लिन नपाइने व्यवस्था छ, तर शाखासम्बन्धी विषयमा बैङ्कहरूले आफ्नै आन्तरिक नीतिअनुसार काम गरिरहेका छन्,” उनले भनिन् ।

श्रेष्ठका अनुसार ग्राहकको गुनासा बढेपछि राष्ट्र बैङ्कले जुनसुकै शाखाबाट तथा अनलाइनमार्फत समेत खाता बन्द गर्न सकिने व्यवस्था समेटिएको नयाँ निर्देशन तयार गरिरहेको छ । उक्त मस्यौदा अन्तिम चरणमा पुगेको र आवश्यक स्वीकृतिको प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिइन् । नयाँ निर्देशन जारी भएपछि देशभरका बैङ्कमा खाता बन्द गर्ने प्रक्रिया एकरूप हुने र ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

विद्यार्थी र बसाइसराइ गर्नेहरूलाई बढी राहत

नयाँ व्यवस्था लागू भएमा सबैभन्दा बढी लाभ विद्यार्थी, वैदेशिक रोजगारीमा जाने व्यक्ति, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र बसाइसराइ गर्ने नागरिकले पाउने अपेक्षा गरिएको छ ।

उदाहरणका लागि, पाँच वर्षअघि धनगढीमा खाता खोलेका व्यक्ति हाल काठमाडौँमा बसोबास गरिरहेका छन् भने पुरानो व्यवस्थाअनुसार खाता बन्द गर्न पुनः धनगढी पुग्नुपर्ने बाध्यता छ । नयाँ व्यवस्था लागू भएपछि भने काठमाडौँस्थित सोही बैङ्कको जुनसुकै शाखाबाट खाता बन्द गर्न सकिनेछ ।

त्यस्तै, पोखरामा खाता खोलेर विराटनगरमा बसोबास गर्ने, नेपालगञ्जबाट काठमाडौँ सर्ने वा विदेश जानुअघि खाता बन्द गर्न चाहने ग्राहकले पनि सहज रूपमा सेवा पाउनेछन् । यसबाट समय, खर्च र झन्झट कम हुनुका साथै बैङ्किङ सेवाप्रतिको विश्वाससमेत बढ्ने अपेक्षा गरिएको छ ।

निष्क्रिय खाताको सङ्ख्या घट्ने विश्वास

बैङ्किङ क्षेत्रका जानकारहरूका अनुसार नेपालमा लाखौँ निष्क्रिय बैङ्क खाता रहेका छन् । तीमध्ये धेरै खाता ग्राहकले प्रयोग नगरे पनि बन्द गर्न नसकेका कारण खुलै रहेका छन् । कतिपय खातामा न्यून मौज्दात हुँदा बैङ्कले सेवा शुल्क कटौती गरिरहने अवस्था हुन्छ भने कतिपय ग्राहकलाई आफ्नो पुरानो खाता अझै सक्रिय रहेको जानकारीसमेत हुँदैन ।

नयाँ व्यवस्थाले खाता बन्द गर्ने प्रक्रिया सहज बनाएपछि ग्राहकहरू सक्रिय रूपमा अनावश्यक खाता बन्द गर्न प्रेरित हुने र निष्क्रिय खाताको सङ्ख्या घट्ने अनुमान गरिएको छ । यसले बैङ्कहरूको अभिलेख व्यवस्थापनलाई पनि थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस