अमेजनकाे सीईओ पद छाड्दै जेफ बेजाेस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ माघ २२, बिहिबार (५ साल अघि)
  • ११९ पटक पढिएको
अमेजनकाे सीईओ पद छाड्दै जेफ बेजाेस

अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट अलग हुने घोषणा गरेका छन् । सानो व्यवसायलाई विश्वकै एउटा महत्त्वपूर्ण कम्पनीका रूपमा रूपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।

अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एण्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन् । जेस्सीले अहिले अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७ दशमलव २ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कुल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो ।

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यहरूमा सक्रिय रूपमा सहभागी हुने बताएका छन् । उनले अहिले डे वान फण्ड र बेजोस अर्थ फण्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन् ।

अहिले ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट सुरु गरेका थिए । अहिले अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा (रिटेल) व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले सङ्गीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरू नवीन परियोजनामा काम गरिरहेको छ । बेजाेसका अन्य व्यवसायहरूमा दी वाशिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लु ओरिजिन रहेका छन् ।

अमेजनको प्रमुख कार्यकारीका रूपमा नियुक्त हुन लागेका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रूपमा काम सुरु गरेका थिए । उनी सन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत छन् । बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उनीमाथि आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् ।

बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वाशिङ्टनमा रहेको छ र यसले अमेरिकी राजधानीबाहिर दोस्रो मुख्यालय पनि बनाउँदैछ । अमेजनको बजार मूल्य मङ्गलवार झण्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झण्डै १० गुणा बढी हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस