
काठमाडौं, ३१ साउन। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षाको नतिजामा सम्बन्धन प्राप्त क्याम्पसले प्रश्न उठाएका छन् । प्रवेश परीक्षाको नतिजा उत्तीर्ण र अनुत्तीर्ण भनेर प्रकाशित नगरी र्याङ्किङमा प्रकाशित गर्नुपर्ने उनीहरूको माग छ ।
साउन ११ देखि एक सातसम्म आईओईले प्रवेश परीक्षा लिएको थियो । अध्ययन संस्थानका डिन सुशील बज्राचार्यका अनुसार १२ हजार ६०० ले परीक्षा दिएका थिए । जसमा ७ हजार २०० को हाराहारीमा विद्यार्थी उत्तीर्ण भएका थिए ।
तर, क्याम्पहरूले १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई पास र फेल भनेर नतिजा सार्वजनिक गर्न नहुने बताएका छन् । ‘विद्यार्थीलाई पास र फेल नभनी र्याङकिङमा गर्नुपर्यो । क्याम्पसहरूमा सिट खाली हुन्छन् । आईओईले सीमित विद्यार्थीलाई मात्र उत्तीर्ण गरेपछि बाँकी विद्यार्थी विदेश गए,’ काठमाडौं इन्जिनियरिङ कलेजका प्रधानाध्यापक हिरेन्द्रमान प्रधानले भने ।
१२ हजार विद्यार्थी नै पढाउने क्षमता भए पनि ७ हजार मात्र विद्यार्थीलाई उत्तीर्ण गराएको आरोप क्याम्पसहरूको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले प्रवेश परीक्षाअघि नै त्रिविको उपकुलपतिसहित डिनसँग छलफल गरेको तर छलफलअनुसार परीक्षा नभएको ललितपुर इन्जिनियरिङ क्याम्पसका निर्देशक ललन तिवारीले बताए ।
‘नेपालका विद्यार्थीले नेपालमै पढ्न पाउनुपर्छ । यही एजेन्डा लिएर जनताको माझमा गएका थियौं भनेर मन्त्रीज्यूले भन्नुभएको थियो । उपकुलपतिले पनि त्यही कुरा राख्नुभएको हो,’ निर्देशक तिवारीले भने ।
तर, आईओईले विद्यार्थी अनुत्तीर्ण हुने गरी प्रवेश परीक्षा लिएको आरोप उनको छ । ‘प्रवेश परीक्षा मेरिटको टेस्ट हो । पास-फेल गर्ने होइन । विद्यार्थी भर्खरै १२ उत्तीर्ण गएर आएका हुन् । कसरी अनुत्तीर्ण गर्न मिल्छ । नियोजित भयो,’ उनले भने, ‘विद्यार्थीलाई पास नगर्ने भन्ने हुँदैन ।’
प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी अन्य विश्वविद्यालय र भारतमा गइरहेको उनले बताए । तर अध्ययन संस्थानको डिन बज्राचार्य नियमअनुसार नै परीक्षा लिएको बताउँछन् ।
‘विश्वविद्यालय अनुदान आयोगको मापदण्डमा ४० प्रतिशत उत्तीर्ण नम्बर राखेर गर्न भनेको छ । त्यही मापदण्डलाई टेकेर गरेको हो । मापदण्डविपरीत गर्यो भने अदालत गयो भने के हुन्छ ?,’ उनले भने, ‘मन्त्रालयमा छलफल हुँदा उत्तीर्ण नम्बर ४० नराखी गर्न लिखित निर्णय गरेर दिन भनेको थिएँ । कुनै निर्णय आएन । नियमविपरीत परीक्षा गर्न भएन नि ।’
विश्वविद्यालय अनुदान आयोगको मापदण्ड परिवर्तन गरेमा त्रिविले र्याङकिङकै आधारमा नतिजा प्रकाशित गर्ने डिन बज्राचार्यले बताए । क्याम्पसहरूले प्रवेश परीक्षा एक साता लगाएर गराएकोमा पनि प्रश्न उठाएका छन् ।
‘परीक्षा एकै दिन हुनुपर्यो । चार सिफ्टमा ४० सेट प्रश्न सोधियो । एकै पटक परीक्षा, एकै प्रकार प्रश्न हुनुपर्छ,’ तिवारीले भने ।
डिन बज्राचार्यले भने भविष्यमा एक दिनमा परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘अरूको भन्दा छिटो प्रवेश परीक्षा लिएका छौँ । २४ घण्टामा नै नतिजा आएको छ,’ उनले भने, ‘भविष्यमा एकै पटक परीक्षा गर्ने तयारी छ ।’
प्रवेश परीक्षा प्रणालीका कारण त्रिविको आंगिक र सम्बन्धन प्राप्त कलेजमा सिट खाली हुने गरेको गुनासो क्याम्पसहरूको छ ।
‘अहिलेको परीक्षा प्रणालीले सिट खाली हुने गरेको छ । विद्यार्थीलाई बाहिर पठाउने गरी हुने गरेको परीक्षाको नतिजा प्रकाशितमा परिमार्जन गर्नुपर्यो,’ तिवारीले भने ।
