
वीरगञ्ज, १९ चैत। आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै छ । हिन्दु धर्मावलम्बीहरूले भगवान् रामका परम भक्त, शक्तिका प्रतीक तथा संकटमोचनका रूपमा पुजिने हनुमानको जन्मोत्सव विशेष पूजा–आराधना, भजन–कीर्तन र विभिन्न धार्मिक अनुष्ठान गरी मनाउने गरेका छन् ।
वीरगञ्जस्थित महावीरस्थान, रामजानकी मन्दिरलगायत काठमाडौँस्थित हनुमानढोका दरबारसहित देशभरका हनुमान मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ । भक्तजनहरूले हनुमानलाई सिन्दूर, तेल, फूलमाला, लड्डु तथा प्रसाद चढाई पूजा गर्ने परम्परा रहिआएको छ ।
सनातन परम्पराअनुसार हनुमान जयन्तीलाई साहस, निष्ठा, सेवा, शक्ति र भक्तिको प्रतीकका रूपमा लिइन्छ । यस अवसरमा भक्तजनहरूले हनुमान चालीसा, सुन्दरकाण्ड तथा रामभक्ति सम्बन्धी पाठ–पारायण गर्ने गर्दछन् । धार्मिक विश्वासअनुसार हनुमानको आराधनाले भय, बाधा, अशुभ प्रभाव तथा मानसिक अशान्ति हट्ने जनविश्वास छ ।
आज भक्तजनहरूले बिहानै स्नान गरी हनुमान मन्दिरमा गई वा घरमै पूजा गर्ने प्रचलन रहेको छ । पूजा गर्दा हनुमानजीको मूर्तिमा सिन्दूर अर्पण गर्ने, धूप, दीप तथा नैवेद्य चढाउने, मन्त्र जप गर्ने तथा हनुमान चालीसा, आरती र बजरङ्ग बान पाठ गर्ने गरिन्छ । साथै असहाय, गरिब तथा वृद्ध व्यक्तिहरूलाई सहयोग गर्दा हनुमान प्रसन्न हुने धार्मिक विश्वास छ ।
हनुमान जयन्तीको अवसरमा आज वीरगञ्जसहित देशभर विभिन्न धार्मिक कार्यक्रम, झाँकी, महाआरती लगायतको पनि आयोजना गरिएको छ । वीरगञ्जस्थित महावीरस्थान मन्दिरमा आज साँझ विशेष पूजा, महाआरती, प्रसाद वितरण र झाँकीको आयोजना गरिएको वीरगञ्ज – ६ का वडाध्यक्ष जयप्रकाश शाहले बताए । त्यस्तै हिन्दु स्वयम् सेवक सङ्घ, राष्ट्रिय हिन्दु परिषद् नेपाल, बजरङ्ग दल नेपाल लगायतका धार्मिक सङ्घ संस्थाहरूको आयोजनामा आज वीरगञ्जमा विशेष जुलुस निकाल्ने योजना पनि रहेको छ ।
