
काठमाडौ, १८ जेठ। १८ वर्षसम्म उपाधिको पर्खाइमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले इतिहास बदल्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ ।
आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरूले आइपिएल २०२६ को ट्रोफी उचालेको हो ।
गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बैंगलुरूले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । जितका लागि कप्तान रजत पाटीदारको टोलीलाई अनुभवी ब्याटर विराट कोहलीले नेतृत्व गरे । कोहलीले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै अविजित ७५ रन बनाए । वेन्कटेश अय्यरले १६ बलमा ३२ रनको आक्रामक इनिङ खेलेर टोलीलाई सहज जिततर्फ डोर्याए ।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले समान १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए भने निशान्त सिन्धु (२०) र जस बटलर (१९) ले उल्लेखनीय योगदान दिए । बैंगलुरूका लागि रसिख सलामले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुड र भुवनेश्वर कुमारले २–२ तथा क्रुनाल पाण्ड्याले १ विकेट लिए ।
बैंगलुरू यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई हराउँदै फाइनल पुगेको थियो । लिग चरणमा शीर्षस्थानमा रहेर टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
कप्तान पाटीदारको ऐतिहासिक उपलब्धि
लगातार दुई पटक आइपिएल जित्ने कप्तानको सूचीमा रजत पाटीदार तेस्रो बनेका छन् । यसअघि महेन्द्र सिंह धोनी (२०१०, २०११) र रोहित शर्मा (२०१९, २०२०) ले मात्रै यस्तो सफलता हासिल गरेका थिए ।
सन्तुलित टोली, सामूहिक प्रदर्शन
बैंगलुरूको सफलताको मुख्य आधार सामूहिक प्रदर्शन रह्यो । टोली कुनै एक खेलाडीमा निर्भर रहेन । सिजन ८ फरक–फरक खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
ब्याटिङतर्फ विराट कोहलीले १६ खेलमा १६५.८४ को स्ट्राइक रेटमा ६७५ रन बनाए, जसमा एक शतक र पाँच अर्धशतक समावेश छन् । कप्तान पाटीदारले १५ खेलमा १९२.६९ को स्ट्राइक रेटमा ५०१ रन जोडे भने देवदत्त पडिक्कलले ४६४ रन बनाए । यी तीन ब्याटरले मात्र १६४० रन योगदान गर्दै शीर्ष क्रम मजबुत बनाए ।
मध्य क्रममा वेन्कटेश अय्यरले ६ इनिङमा २०९ रन जोड्दै आवश्यक समयमा टोलीलाई सम्हाले । बलिङतर्फ भुवनेश्वर कुमार, रसिख सलाम र जोश हेजलवुडले निरन्तर प्रभावशाली प्रदर्शन गरे ।
ऐतिहासिक उपलब्धि
आईपीएलमा लगातार दुई उपाधि जित्ने बैंगलुरू तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्स (२०१०, २०११) र मुम्बई इन्डियन्स (२०१९, २०२०) ले लगातार उपाधि जितेका थिए। सर्वाधिक ५–५ उपाधिसहित चेन्नई र मुम्बई शीर्षस्थानमा छन् ।
गत संस्करणमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक उपाधि जितेको बैंगलुरूले यस पटक उपाधि रक्षा गर्दै आफ्नो नयाँ युगको सुरुवात गरेको सङ्केत दिएको छ । लगातार दोस्रो ट्रोफीसँगै आरसीबी अब आइपिएलको शक्तिशाली टोलीका रूपमा स्थापित भएको छ ।
