
उत्तर प्रदेश ,०९ कात्तिक। भारतको उत्तर प्रदेशस्थित कानपुरमा बालबालिकाबिच सुरु भएको विवादले उग्र रूप लिएपछि एक युवक गम्भीर घाइते भएका छन् । पारिवारिक झगडाका क्रममा भाउजूले देवरको गुप्तांगमा टोकेको आरोप लागेको छ । घाइते युवकको उपचारका क्रममा ५५ टाँका लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको आजतकका अनुसार घटना कानपुरको साजेठी प्रहरी चौकी क्षेत्रअन्तर्गत पुरौपुर गाउँमा भएको हो । घटनामा घाइते हुने ३७ वर्षीय युवक रजनीश हुन् भने आरोपित महिला उनकी भाउजू गायत्री रहेको बताइएको छ ।
प्राप्त विवरणअनुसार विवाद बालबालिकाबिचको झगडाबाट सुरु भएको थियो । गायत्रीका छोरा रजनीशकी श्रीमती सुमनको घरमा गएका बेला विवाद भएको र त्यस क्रममा रजनीशले आफ्ना भतिजालाई कुटपिट गरेको आरोप छ । बालकले घर फर्केर आमालाई घटनाबारे बताएपछि गायत्री आक्रोशित भएकी थिइन् ।
त्यसपछि गायत्री देवरको घरमा पुगेपछि परिवारका सदस्यबिच भनाभन सुरु भएको थियो । विवाद बढ्दै जाँदा हात हालाहालको अवस्था सिर्जना भएको र सोही क्रममा घटना भएको बताइएको छ । झगडाका क्रममा रजनीशले आफ्ना लुगा खोलेपछि विवाद थप चर्किएको थियो । त्यसपछि गायत्रीले उनलाई भुईँमा लडाएर गुप्तांगमा टोकेको आरोप लागेको छ ।
घटनामा गम्भीर घाइते भएका रजनीशलाई उनका बुबाले सुरुमा घाटमपुरस्थित सामुदायिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई कानपुरको हेलेट अस्पताल रेफर गरिएको थियो । अस्पतालमा चिकित्सकहरूले उनको चोटको उपचारका क्रममा ५५ टाँका लगाएको जनाइएको छ ।
घटनापछि रजनीशकी श्रीमती सुमनले गायत्रीविरुद्ध प्रहरीमा लिखित उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरी गायत्रीलाई पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगसम्बन्धी आरोपमा पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराइएपछि अदालतको आदेशअनुसार जेल पठाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आरोपित गायत्रीका श्रीमान् पुष्पराज अहमदाबादस्थित एक निजी कम्पनीमा काम गर्दै आएको बताइएको छ। प्रहरीले घटनाको वास्तविक कारण, झगडाको क्रम र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
