
काठमाडौं, ३१ असार। उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।
आज बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् । उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन गरेको किसान बम तामाङले बताए ।
उनका अनुसार प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा किसानहरु भेला भएका थिए ।
प्रदर्शनका क्रममा किसानहरूले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य मूल्य तोक, कृषि बिमा लागू गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
साथै उनीहरूले मन्त्रालय र मन्त्रीले किसानका समस्या समाधान गर्न नसकेको भन्दै ‘कृषिमन्त्री मुर्दावाद’ को नारा लगाएका थिए ।
कृषि पेसालाई सुरक्षित र मर्यादित बनाउन सरकारले तत्काल नीतिगत सुधार गरी किसानमैत्री कदम चाल्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ । माग पूरा नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी समेत किसानहरूले दिएका छन् ।
