उद्योगमन्त्री यादवले अमेरिकी कार्यवाहक राजदूतसँग गरे भेट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३२, बिहिबार (१३ घण्टा अघि)
  • ३७ पटक पढिएको
उद्योगमन्त्री यादवले अमेरिकी कार्यवाहक राजदूतसँग गरे भेट

काठमाडौं, ३२ असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

सचिवालयले पठाएको प्रेस नोटमा लेखिए अनुसार मन्त्री यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गरेकी थिइन् । उनले अमेरिकामा रहेका नेपाली डायस्पोराले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख पनि गरिन् ।

मन्त्री यादवले सन् २०१५ मा सुरु भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भएको स्मरण गराउँदै नेपाली वस्तुका लागि अमेरिकी बजारमा पुन: सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न अमेरिकी सरकारबाट सहयोग अपेक्षा पनि व्यक्त गरेकी थिइन् ।

व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाउँदै द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री यादवले जोड दिएकी थिइन् ।

साथै नेपाल सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाउँदै लगेको उल्लेख गर्दै मन्त्री यादवले सम्भावनायुक्त क्षेत्रमा थप अमेरिकी लगानी भिर्त्याउन सरकार इच्छुक रहेको जानकारी गराएकी थिइन् । विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीका लागि उनले आग्रह गरेकी थिइन् ।

हाल संयुक्त राज्य अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य रहेको उल्लेख गर्दै उनले नेपालबाट ऊनी गलैँचा, तयारी पोशाक र पश्मिनालगायतका वस्तु निर्यात हुँदै आएको जानकारी गराइन् । तर द्विपक्षीय व्यापारमा नेपालले व्यापार घाटा व्यहोर्नुपरेको उल्लेख गर्दै उनले प्रविधि हस्तान्तरण र निजी क्षेत्रबीचको साझेदारी सुदृढ बनाएर उक्त खाडल कम गर्न सकिने धारणा राखेकी थिइन् ।

मन्त्री यादवले उठाएका व्यापार सहुलियतको निरन्तरता, लगानी प्रवर्द्धन तथा व्यापारिक संवादलाई पुन: सक्रिय बनाउनेलगायतका विषयमा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ ।

उनले नेपालले उठाएका विषयमा अमेरिकी सरकार सकारात्मक रहेको र व्यापार, लगानी तथा आर्थिक सहकार्यका क्षेत्रमा आवश्यक सहयोग र निरन्तर साझेदारी रहने प्रतिबद्धता व्यक्त गरेको मन्त्री यादवले सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस