बुधबार बसेको संघीय संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘एलपी ग्यास सिलिन्डरको सुरक्षा मापदण्डबारे नागरिकमा गम्भीर चासो छ । घरघरमा पुराना र जोखिमयुक्त सिलिण्डर प्रयोग भइरहेको भन्ने गुनासो आइरहेको छ । यसको व्यवस्थापन र नियमित परीक्षणका लागि के व्यवस्था गरिएको छ ? सिलिण्डरभित्र लेदो हुने तथा उपभोक्ता ठगिएको भन्ने गुनासो व्यापक छ । विशेषगरी ७.१ केजी रिफिल वितरणका क्रममा यस्ता गुनासा अझ बढेका छन्,’ पाठकले भने ।
साथै, पाठकले सिलिण्डरभित्र हुने लेदोका कारण उपभोक्ताहरू ठगिएको र हालै कार्यान्वयनमा आएको आधा सिलिन्डरको व्यवस्थाले थप अन्योल सिर्जना गरेको उल्लेख गरे ।
‘यस विषयमा मन्त्रालय र सम्बन्धित निकायले के पहल गरिरहेका छन् ? एलपी ग्यासमा बढ्दो परनिर्भरता र राज्यले व्यहोर्नुपरेको अनुदानको भारलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका रूपमा विद्युत ऊर्जाको प्रयोग विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा एलपी ग्यासको विकल्प विकास गर्ने सरकारको योजना के छ ? यसबारे स्पष्ट जानकारी गराइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने ।