
जनकपुरधाम, १६ चैत। चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन मधेश प्रदेश सरकारले कडा नियमहरू लागू गर्ने तयारी गरेको छ।
मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशका आठवटै जिल्लाका सरोकारवालासँग छलफल गरी परीक्षा व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो।
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले परीक्षा केन्द्रलाई पूर्ण रूपमा अनुशासित बनाउने उद्देश्यसहित मोबाइल फोन लगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरणमा पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिइन्।
उनका अनुसार, परीक्षा केन्द्रभित्र विद्यार्थी मात्र होइन, कर्मचारी वा निरीक्षक कसैले पनि मोबाइल लैजान पाउने छैनन्। यदि कसैको साथमा मोबाइल भेटिएमा तत्काल जफत गरी नष्ट गर्ने चेतावनीसमेत दिइएको छ।
मन्त्री तिवारीले परीक्षा अवधिमा कुनै पनि किसिमको अनियमितता हुन नदिन कडा निगरानी व्यवस्था गरिएको बताउँदै नियम उल्लंघन गर्नेलाई कारबाही गरिने स्पष्ट पारिन्।
त्यस्तै, परीक्षा केन्द्रको वातावरण प्रभावित हुन नदिन पत्रकारहरूलाई पनि परीक्षा हलभित्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ। रिपोर्टिङका लागि केन्द्र बाहिरबाटै काम गर्न आग्रह गरिएको छ।
शिक्षा मन्त्रालयका उपसचिव उज्ज्वल पोख्रेलका अनुसार, केन्द्राध्यक्ष बाहेक अन्य कर्मचारीलाई मोबाइल लैजान पूर्ण निषेध गरिएको छ। साथै, शान्तिपूर्ण र मर्यादित रूपमा परीक्षा सञ्चालन गर्न सबै कर्मचारीलाई जिम्मेवार बनाइने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरूको पारिश्रमिक सुधारका लागि प्रस्ताव राष्ट्रिय परीक्षा बोर्डमा पठाइने निर्णय पनि गरिएको छ।
यस वर्ष मधेश प्रदेशबाट करिब ८७ हजार ५९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने जनाइएको छ।
मधेश प्रदेश सरकारले लागू गर्न लागेको यी कडा नियमहरूले एसइई परीक्षालाई नकलरहित, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
