एसीसी प्रिमियर कपमा नेपालका प्रतिद्वन्द्वी तय, यी टोलीसँग खेल्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (४३ मिनेट अघि)
  • ४१ पटक पढिएको
एसीसी प्रिमियर कपमा नेपालका प्रतिद्वन्द्वी तय, यी टोलीसँग खेल्ने

काठमाडौ, ०९ भदौ। नेपाली पुरुष क्रिकेट टोलीले आगामी सातादेखि एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्दैछ । मलेसियामा हुने एकदिवसीय फर्म्याटको प्रिमियर कपका लागि नेपाली टोली मलेसिया पुगिसकेको छ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै दोस्रोपटक एसिया कपमा स्थान बनाउने लक्ष्य राखेको छ । उपाधि विजेता मात्र एसिया कपमा छनोट हुनेछ भने शीर्ष ३ ले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।

नयाँ कप्तान र फेरिएको टिमसहित प्रतियोगितामा उत्रिन लागेको नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यीमध्ये बहराइन र हङकङ हालै मात्र विश्वकप च्यालेन्ज लिगमा प्रतिस्पर्धा गरेर आएका टोली हुन् भने मलेसियासँग नेपालले पछिल्ला वर्षमा टी–२० क्रिकेटमा नियमित भेट गरे पनि ५० ओभरको क्रिकेटमा ३ वर्षपछि खेल्दैछ । साउदी अरेबियासँग पनि लामो समयपछि खेल्नेछ ।

नेपालले सन् २०२३ मा घरेलु मैदानमै आयोजना भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो । यसपटक पनि त्यही उपलब्धिलाई दोहोर्‍याउँदै एसिया कपमा पुग्ने नेपालको लक्ष्य छ ।

समूहमा रहेका चारै टोली नेपालका लागि अपरिचित भने छैनन्, तर उनीहरूको पछिल्लो प्रदर्शन र घरेलु मैदानको अवस्थाले प्रतियोगितालाई सहज भने बनाउने छैन ।

बहराइन

नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि यी दुई टोलीबीच छोटो फर्म्याटमा भेट भए पनि एकदिवसीय क्रिकेटमा पहिलो भेट हुन लागेको हो ।

बहराइनले पछिल्लो समय विश्वकप च्यालेन्ज लिग बीमा प्रतिस्पर्धा गर्दै आएको छ । च्यालेन्ज लिग बीमा उसले सिंगापुर, तान्जानिया र युगान्डाजस्ता टोलीलाई पराजित गरेको थियो ।

बहराइनका आसिफ अलीले च्यालेन्ज लिग बी मा ११ खेलमा ३४० रन बनाएका थिए । सोहेल अहमदले १४ खेलमा ३०० रन बनाए । अहमर बिनले १४ खेलमा २९२ रन बनाए ।

यस्तै बलिङमा अब्दुल माजिदले १३ खेलमा १८ विकेट लिए । रिजवान बटले १३ खेलमा १७ विकेट लिए ।

त्यसैले ५० ओभरको क्रिकेटमा अनुभव बटुलेको बहराइनलाई नेपालले समूह चरणमा हल्का रूपमा लिन सक्ने अवस्था छैन ।

नेपालका लागि यो खेल एकदिवसीय क्रिकेटमा नयाँ प्रतिद्वन्द्वीविरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसरसमेत हुनेछ ।

मलेसिया

मलेसियासँग नेपालले पछिल्लो समय टी–२० क्रिकेटमा लगातार खेल्दै आएको छ । तर ५० ओभरको क्रिकेटमा भने नेपाल र मलेसियाबीचको भेट तीन वर्षपछि हुँदैछ ।

यद्यपी प्रिमियर कपअघि नेपाल र मलेसियाबीच आज अभ्यास खेल भने भइरहेको छ । यो अभ्यास खेलका तथ्याङ्कहरू कतै पनि समावेश हुने छैनन् ।

सन् २०२३ को एसीसी प्रिमियर कपमा भने यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । त्यस खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले पूरा गर्दै जित निकालेको थियो ।

त्यसअघि सन् २०१८ को एसिया कप छनोटमा पनि नेपाल र मलेसिया भिडेका थिए । ३० ओभरमा छोट्याइएको उक्त खेलमा नेपाल विजयी भएको थियो ।

यसपटक भने मलेसियालाई घरेलु मैदानको फाइदा हुनेछ । मलेसियाका विरानदीप सिंह, साइद अजिज, विजय उन्नीजस्ता खेलाडीहरू चम्किन सक्छन् ।

परिस्थितिसँग परिचित हुनुका साथै घरेलु समर्थकको साथ पाउने भएकाले मलेसिया नेपालका लागि समूह चरणमा महत्वपूर्ण चुनौती बन्न सक्छ ।

हङकङ

हङकङ पनि पछिल्लो समय विश्वकप च्यालेन्ज लिग बीमा प्रतिस्पर्धा गरिरहेको टोली हो । च्यालेन्ज लिग बीमा इटाली र युगान्डाभन्दा तल रहेपछि हङकङ विश्वकप छनोटको प्लेअफमा पुग्न सकेन । यद्यपी टोलीसँग ५० ओभरको क्रिकेटको पर्याप्त अनुभव छ ।

नेपाल र हङकङले ५० ओभरको क्रिकेटमा पछिल्लोपटक करिब आठ वर्षअघि प्रतिस्पर्धा गरेका थिए । त्यसयता छोटो फर्म्याटमा भेट भए पनि एकदिवसीय क्रिकेटमा लामो अन्तरालपछि आमनेसामने हुन लागेका हुन् ।

हङकङको टोलीमा अन्शुमन राथ, बाबर हायात र यासिम मुर्तजा जस्ता खेलाडीले प्रदर्शन गर्दै आएका छन् । राथले च्यालेन्ज लिगमा १४ खेलमा ५२९ रन बनाएका थिए । बाबरले १४ खेलमा ३४१ रन बनाए । यासिम मुर्तजाले ३३९ रन बनाए ।

बलिङमा मुर्तजाले १४ खेलमा २५ विकेट लिए भने एहसान खानले १४ खेलमा २२ विकेट, अतिक इकबालले १४ खेलमा १५ विकेट लिएका थिए ।

अनुभव र व्यक्तिगत क्षमता हेर्दा हङकङलाई नेपालका लागि समूह चरणको बलियो प्रतिद्वन्द्वीका रूपमा लिन सकिन्छ ।

साउदी अरेबिया

साउदी अरेबियासँग नेपालको ५० ओभरको क्रिकेटमा लामो समयपछि भेट हुँदैछ । नेपाल र साउदीबीच पछिल्लोपटक सन् २०१२ को एसीसी ट्रफी इलिटमा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपाल विजयी भएको थियो ।

सन् २०२३ को एसीसी प्रिमियर कपमा पनि नेपाल र साउदीबीच खेल तय भएको थियो । माथिल्लो मुलपानीमा हुने भनिएको उक्त खेल वर्षा र मैदान भिजेका कारण रद्द भएको थियो ।

त्यसैले यसपटक नेपालले साउदीविरुद्ध १४ वर्षपछि ५० ओभरको क्रिकेटमा पूरा खेल खेल्ने अवसर पाउनेछ ।

***

समग्रमा समूहका चार टोलीसँग नेपालको अनुभव फरक–फरक छ । बहराइनसँग पहिलोपटक ५० ओभरमा खेल्न लागेको नेपालले मलेसिया र हङकङसँग लामो अन्तरालपछि एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ भने साउदीसँगको भेट त १४ वर्षपछि हुँदैछ ।

उपाधि जितेर फेरि एसिया कपमा पुग्ने लक्ष्य राखेको नेपालका लागि समूह चरणमै यी चार टोलीविरुद्धको प्रदर्शनले प्रतियोगिताको यात्राको दिशा तय गर्नेछ ।

समूह चरणमा यी टोलीहरूसँग प्रतिस्पर्धा गरेर ५ टोलीमध्ये शीर्ष २ मा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइनलमा नेपालको सम्भावित प्रतिद्वन्द्वीका रूपमा यूएई वा ओमान अर्को समूहबाट आउन सक्छन् ।

यूएई र ओमान पछिल्लो समय नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हुन् । सेमिफाइनल वा फाइनलमा नेपालको सम्भावित प्रतिद्वन्द्वी यही दुई टोली हुनेछन् ।

यसकारण समूह चरणपछि नेपालको भेट यूएई वा ओमानसँग भएमा हेर्नलायक भिडन्त हुनेछ । फाइनल पुगेर उपाधि जितेमा नेपाल एसिया कपमा छनोट हुनेछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस