
काठमाडौं, १४ असार। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएकी हुन् ।
‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ ।एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु हुँदैन,’ उनले भनिन्, ‘तथापि जनताले व्यक्त गरेका सन्देशहरूलाई स्वीकार गर्नु आजको आवश्यकता हो ।’
उनले बदलिँदो पुस्ताको आकांक्षाबारे कम्युनिस्ट आन्दोलनले समयानुकूल निरन्तर परिस्कृत गर्नुपर्ने महसुस भएको बताइन्। ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ,’ उनले भनिन्, ‘बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपुर्छ ।विगतको उपलब्धिको स्मृरणमात्रै पर्याप्त हुँदैन ।’
उनले नेपालका लागि प्रत्यक्ष कार्यकारीको परिकल्पना उपयुक्त नभएको पनि बताइन् । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन् ।
