काठमाडौँ महानगरपालिकाले ८ सय प्राथमिक उपचारकर्ता तयार गर्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
काठमाडौँ महानगरपालिकाले ८ सय प्राथमिक उपचारकर्ता तयार गर्ने

काठमाडौं, १० वैशाख। काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेको छ ।

‘वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ,’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले, घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै भने, ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउन काम भइरहेको छ ।’ वडा स्तरीय प्राथमिक उपचार तालिम अन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै उने, भने, ‘सिप सिकेको राम्रो । तर, सकेसम्म यो सिपको प्रयोग गर्नु नपर्ने अवस्था हुनु राम्रो हो । परि हालेका बेला कसैले पनि पछाडि हट्नु हुँदैन ।’

‘रेडक्रसले आफूलाई होइन, अरुका लागि भन्ने सिकाउँछ,’ उने, भने, ‘प्राथमिक उपचार पनि अरुको सेवा गर्छु भनेर सिक्ने सिप हो । यो आफूलाई कम र अरुलाई धेरै काम लाग्छ,’ उनको भनाइ थियो ।

‘महानगरपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदाय स्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्धन केन्द्रहरुमा प्रयोगशालासहितका सुविधा थपिएको छ,’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले भने, ‘करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तर वृद्धि गर्नमा खर्च गरिरहेका छौँ ।’
तालिममा सिकेको सिप घटना नभए पनि अभ्यास गरिरहनुपर्छ नत्र विर्सेर आपतका बेला काम नलाग्न सक्छ । कार्यक्रममा वडा सदस्य जितेन्द्र खड्गीले भने, ‘प्रशिक्षार्थी आफैँको तत्परताले नियमित अभ्यास सम्भव छ ।’

दक्ष प्राथमिक उपचारकर्ता उत्पादन गर्ने महानगरपालिकासँगको सम्झौतालाई गुणस्तरीय दायित्वका रुपमा पूरा गर्ने बताउँदै रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले अहिलेको लगानी विपदका समयमा काम लाग्ने बताए । तालिमका प्रशिक्षक राजाराम श्रेष्ठले तालिममा १६ वर्षदेखि ६५ वर्ष उमेर समूहका सहभागी हुनुभएको, २३ जना महिला र २ जना पुरुष सहभागी हुनुभएको जानकारी दिए ।

प्रशिक्षार्थीहरुले, घरमै बसिरहेको बेला महानगरपालिकाले अवसर दिएको, सुरुमा तालिमलाई औपचारिक रुपमा मात्र लिएको तर सिक्दै गएपछि अझ धेरै सिक्न बाँकी रहेछ भन्ने महसुस भएको प्रतिक्रिया दिए ।

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपाल सहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपतकालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था विग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सिप सिकाइन्छ । दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटना स्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप विग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ ।

यसमा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । शरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस