
विराटनगर, ११ जेठ। कोशी प्रदेश सभाको बैठकमा आज पनि प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची छ।
प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी दैनिक कार्यसूची अनुसार, गत जेठ ७ गते प्रदेश प्रमुखले प्रदेश सभामा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि आजको बैठकमा निरन्तर छलफल हुनेछ । आइतबारबाट सुरू छलफलमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच आरोप-प्रत्यारोपको जुहारी चलिरहेको छ ।
सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमलाई प्रदेशको मुहार फेर्ने र जनताको जीवन बदल्ने कार्य योजनाका रूपमा व्याख्या गरेका छन् । विपक्षी सांसदले नीति तथा कार्यक्रमको कार्यान्वयनमा समस्या देखाउँदै आलोचना गरिरहेका छन् । विपक्षीले सरकारको नीति तथा कार्यक्रमलाई ‘आश्वासनको पोको’ को संज्ञा दिएका छन् ।
नेकपाकै सांसद गणेशप्रसाद उप्रेतीले सरकारले जनभावना र पहिचानको मुद्दालाई बेवास्ता गरेको आरोप लगाए ।
‘पूर्वाधार बिना नै पर्यटन वर्ष घोषणा गर्नु प्रचारमुखी कार्य मात्र हो,’उप्रेतीले भने, ‘पुराना र असफल भइसकेका योजनालाई नयाँ जलप लगाएर ल्याइएको छ ।
सत्तापक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमको बचाउ गरे । नेकपा एमालेका सांसद राधाकृष्ण खनालले युवा ट्यालेन्ट हन्ट’ र ‘म अघि बढ्छु’ जस्ता कार्यक्रमले युवा पुस्तामा नयाँ आशा जगाउने दाबी गरे । उनले यो कार्यक्रमले स्वच्छ र समुन्नत प्रदेशको परिकल्पनालाई साकार पार्ने विश्वास व्यक्त गरे ।
सांसद होमबहादुर थापाले कोशी प्रदेशलाई चिया र कफीको ‘हब’ बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने योजनाले आर्थिक समृद्धिको ढोका खोल्ने बताए । उनले सङ्घीय सरकारले अधिकार नदिएको अवस्थामा पनि प्रदेशले आफ्नै बलबुँतामा अघि बढ्ने आँट गरेको तर्क गरे ।
सत्तापक्षका जयप्रकाश चौधरी र किशोरचन्द्र दुलालले यो केवल सरकारको सपना मात्र नभई प्रदेशवासीको दैनिकीसँग जोडिएको ‘जीवन बदल्ने कार्य योजना’ भएको दाबी गरे ।
‘यो नीति तथा कार्यक्रम कोशी प्रदेशका बासीसँगको दैनिकीसँग जोडिएर आएको छ,’ सांसद दुलालले भने,‘यो सरकारको सपना मात्रै होइन, प्रदेश बासीको जीवन बदल्ने कार्य योजना हो ।’
