
काठमाडौं, २९ असार। अनलाइनखबरको गेट अगाडि सोमबार बिहान शंकास्पद रूपमा राखिएको गाडी क्रेनको प्रयोग गरी हटाइएको छ ।
गाडीहरू कार्यालयभित्र प्रवेशमा अवरोध गर्ने गरी शंकास्पद रूपमा राखिएको गाडी प्रहरीले क्रेनको मार्फत हटाएको हो ।
अनलाइनखबर, sf शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए ।
नयाँ बानेश्वरस्थित अनलाइनखबर, तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद रूपमा गाडी राखिएका थिए ।
नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।
महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुऱ्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
महासंघ अध्यक्ष निर्मला शर्मा सहितको टोलीले अनलाइनखबर लगायत हाउसमा गएर स्थितिको निरीक्षण गरेको छ । शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको भएको भन्दै पत्रकार र मिडिया हाउसको सुरक्षाका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गरेकी छन् ।
त्यस्तै अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले पत्रकारहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण तयार गर्न भूमिका खेल्नका लागि महासंघको टोलीलाई आग्रह गरेका छन् ।
