गृहमन्त्री सुधनको एस्कर्टिङमा देखिएको गाडी मिडियाको गेट छेक्ने नै रहेको दाबी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (७ घण्टा अघि)
  • ३९ पटक पढिएको
गृहमन्त्री सुधनको एस्कर्टिङमा देखिएको गाडी मिडियाको गेट छेक्ने नै रहेको दाबी

काठमाडौँ , ०५ साउन। असार २९ गते कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि शंकास्पद रूपले राखिएको बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गत असार सात गते चितवनमा भएको रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरूङलाई ‘एस्कर्टिङ’ गर्नका लागि समेत प्रयोग भएको तथ्य खुलेको छ।

बिहान ७ बजेतिर मास्क र कालो चस्मा लगाएर आएका एक शंकास्पद व्यक्तिले कान्तिपुर कार्यालय अगाडि गाडी पार्क गरी भागेको प्रत्यक्षदर्शीले त देखेका थिए नै, कान्तिपुर अगाडि जडान भएको सीसी टिभीले समेत उजागर गरेको थियो ।

कान्तिपुरसँगसँगै बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको अगाडि पनि त्यसदिन शंकास्पद गाडी तेर्स्याइएको थियो। शंकास्पद गाडी राखिएको सूचना बाहिरिएपछि ती गाडीहरूलाई प्रहरीले क्रेनको सहायताले हटाएको थियो।

त्यही गाडीले चितवन महाधिवेशनमा गृहमन्त्री गुरूङलाई ‘स्कर्टिङ’ गरेको सूचना प्राप्त हुनासाथ अनलाइनखबरले उनी चितवन पुगेकै दिनदेखि उनले ‘मुभमेन्ट’ गरेका एक दर्जन भिडियो फुटेजहरू ‘भेरीफाइ’ गरेको छ । ती भिडियोमा बा प्रदेश-०१ ०३४ च ८४८० नम्बरको गाडी त्यो दिन स्पष्ट रूपमा गृहमन्त्री गुरूङ हिँडडुल गर्दा वरपर स्कर्टिङमा भएको देखिन्छ ।

यही नम्बर प्लेटको गाडी गृहमन्त्री गुरूङले असार १४ गते पनि हेटौंडाबाट बाराको पथलैयासम्म प्रयोग गरेका थिए । बाराकै एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा यो कुराको पुष्टि गरेका छन्। उनले भने, ‘गृहमन्त्रीज्यू कुनै औपचारिक जानकारी दिएर त आउनुभएको थिएन, तर हामीले थाहा पाएपछि गाडीको डिटेल बुझेका थियौँ। कालो रङको जेको ब्रान्डको जे सिक्स्टी , बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको थियो। तर, पछि पूर्वतिर जान लाग्दा उहाँले गाडी बदल्नु भएको जानकारी आयो ।’

औपचारिक जानकारीका लागि अनलाइनखबरले बारा प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटालाई सम्पर्क गर्‍यो । तर सापकोटाले आफूलाई यो विषयबारे कुनै जानकारी नभएको बताए । ‘हामीलाई यस्तो विषयको जानकारी हुँदैन । आउनुभएको थियो, तर म त्यहाँ खटिएको थिएन’, उनले भने।

हेटौंडाबाटै कालो रङको थार चढेकाले अनलाइनखबरले मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसँग पनि यो विषयमा जानकारी लिएको छ। तर काफ्ले यो विषय आफूलाई थाहा नभएको भन्दै पन्छिए ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारी मिडिया हाउस अगाडि गाडी तेर्स्याउने काम गृह मन्त्रालय सम्बद्ध व्यक्तिहरूबाटै भएको बताउँछन्। ती अधिकारीले अनलाइनखबरसँग भने, ‘सुरूमा हाम्रै सचिवालयबाट भएको सूचनाहरू आयो। तर खास कुरा बुझ्दा त्यो गृहमन्त्री ज्यूकै निर्देशनमा भएको चाल पायौँ। जे भयो एकदम गलत भयो।’

गृहमन्त्री गुरूङले यो गाडी कति दिनसम्म प्रयोग गरे भनेर बुझ्न अनलाइनखबरले गाडी मालिक रवि जयसवाललाई सम्पर्क गरेको थियो। तर, उनको फोन ‘आउट अफ सर्भिस’ बताइरहेको छ।

गृहमन्त्रीको प्रमुख स्वकीय सचिव जेम्स कार्कीसँग पनि यो विषयमा प्रतिक्रिया लिन अनलाइनखबरले सम्पर्क गरेको थियो। उनले बा प्रदेश०१ ०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्रीले पटकपटक प्रयोग गरेको स्वीकारेका छन्। उनले गुरूङले यो गाडी चितवन महाधिवेशनताका पनि प्रयोग गरेको स्वीकारे। ‘महाधिवेशनमा गृहमन्त्रीको आफ्नै गाडी उपलब्ध नभएको कारण त्यो गाडी चढ्नुभएको थियो,’ कार्कीले अनलाइनखबरसँग भनेनाकामा छड्के गर्न जाँदा आफ्नो गाडी चिन्छन् भनेर उहाँले हाम्रै पार्टीका रवि जयसवालको गाडी प्रयोग गर्नुभएको हो ।’

रवि जयसवाल रास्वपाका नेता हुन् । रास्वपाको अघिल्लो कार्यसमिति रहेका बेला पार्टीमा भित्रिएका उनी अहिले गृहमन्त्री निकट छन् ।

यो घटनामा गृहका उच्चपदस्थ व्यक्तिकै ढाडसमा भएको त रास्वपाकै नेताहरूले पनि संकेत गरिरहेका छन् । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले नै विज्ञप्ति जारी गरेर उक्त घटना आपत्तिजनक भएको बताएका थिए । सभापति रवि लामिछानेले संसद् परिसरमा पत्रकारहरूसँग पनि यो घटनामा जोसुकै संलग्न भए पनि कार्बाही हुने बताएका थिए । अब रास्वपाले कस्तो प्रकारको कारबाही गर्छ, अनि यसरी मिडियाका गाडी छेक्न उद्धत हुने व्यक्तिविरुद्ध कस्तो प्रकारको कानुनी कारबाही हुन्छ, यो प्रतीक्षाको विषय बनेको छ ।

पूर्वसहमहामन्त्री समेत रहेका रास्वपाका सांसद मनिष झाले त यस्तो शैलीले राजकाज चल्छ ? भन्दै सिधै सरकार संरक्षित व्यक्तिहरूको संलग्नतामा उक्त कार्य भएको जस्तो संकेत गरेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस