
काठमाडौं, २५ असार। गैरकर निर्धारण र असुल गर्न अयकर ऐन संशोधन गरिँदैछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गरेको ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ को दफा ३ मा आयकर ऐन २०५८ मा संशोधन मा संशोधन गर्ने प्रस्ताव छ ।
जहाँ गैरकर को परिभाषा छ । प्रस्तावित परिभाषामा भनिएको छ, ‘गैरकर’ भन्नाले प्रचलित कानून बमोजिम लाग्ने शुल्क, दस्तुर, सेवा शुल्क, रोयल्टी, लाभांश, जरिबाना वा साँवा फिर्ता रकम सम्झनु पर्छ र सो शब्दले त्यस्तो रकममा लाग्ने व्याजलाई समेत जनाउँछ ।’
यसपछि आयकर ऐनको दफा ७२ पछि दफा ७२क थप्ने प्रस्ताव छ ।
७२क मा गैरकर निर्धारण तथा असुल गर्ने प्रावधान राखिएको छ ।
दफा (१) मा प्रचलित कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने गैरकर नतिरेको वा नबुझाएको विषयमा नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही महानिर्देशकले छानबिन तथा अनुसन्धान गरी गैरकर निर्धारण गर्न वा गराउन सक्ने व्यवस्था छ ।
छानबिन तथा अनुसन्धानबाट थप गैरकर दायित्व निर्धारण हुने भएमा त्यस्तो थप गैरकर रकमको शतप्रतिशत जरिबाना गरी असुल गरिने भनिएको छ ।
उपदफा ३ मा भनिएको छ, ‘गैरकर नतिरेको वा नबुझाएको विषयको छानबिन तथा अनुसन्धान र गैरकर निर्धारण समबन्धी कार्यविधि विभागले निर्धारण गरे बमोजिम हुनेछ ।’
