झन्डै ३ करोड राजस्व हिनामिनामा संलग्न पाँच जनाविरुद्ध मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (३ हप्ता अघि)
  • ८५ पटक पढिएको
झन्डै ३ करोड राजस्व हिनामिनामा संलग्न पाँच जनाविरुद्ध मुद्दा

वीरगञ्ज, १९ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा करिब २ करोड ९३ लाख रुपैयाँ बराबरको राजश्व हिनामिना गरेको अभियोगमा तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७०/७१ मा भएको अनियमिततासम्बन्धी अनुसन्धानपछि पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम अर्याल, सुरेन्द्र प्रसाद कुर्मी तथा तत्कालीन नायब सुब्बा स्वर्गीय किरण उपाध्यायका अंशियार छोराहरू राज किशोर उपाध्याय र गौतम उपाध्यायलाई प्रतिवादी बनाउँदै बुधवार विशेष अदालत मा मुद्दा दायर गरेको जनाएको छ ।

आयोगका अनुसार रजिस्ट्रेसन शाखा ‘ग’ मा एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रूपमा रजिस्ट्रेसन नम्बर राखेर एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ । दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि तीसँग सम्बन्धित राजश्व रसिदहरूको तुलना गर्दा कम राजश्व देखाइएका लिखत मात्र पेस गरिएको र बढी राजश्व लाग्ने लिखतहरू लुकाइएको अनुसन्धानबाट खुलेको छ ।

यस्तै, केही लिखतबाट प्राप्त राजश्व रकम बैंक दाखिला गरिएको देखिए पनि वास्तविक उच्च राजश्व भएका लिखतहरू दर्ता किताबमा समावेश नगरी रकम हिनामिना गरिएको आयोगले जनाएको छ । आन्तरिक तथा अन्तिम लेखा परीक्षणसमेत नगरी उक्त कार्य गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

अनुसन्धान अनुसार सो आर्थिक वर्षमा कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजश्व हिनामिना भएको ठहर गरिएको छ । उक्त प्रकरणमा संलग्न कर्मचारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस