
काठमाडौँ, १२ साउन। लगातार ३ हारसँगै विश्वकप लिग २ मा नेपालको यात्रा अत्यन्त कठिन स्थितिमा पुगेको छ । नेपाल अब टप ४ मा अटाउने गणितीय सम्भावना पनि बाँकी छैन ।
हिजो भएको तेस्रो म्याचमा नामिबियाविरुद्ध संघर्ष गरे पनि ३ रनको हार स्वीकार्न बाध्य भयो । यससँगै नामिबया अंकतालिकामा पाचौं स्थानमा उक्लिएको छ भने नेपाल छैटौं स्थानमा खस्केको छ ।
आगामी म्याचमा यी दुवै देशले थप अंक बटुलेर नेपाललाई पछि पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
लिग २ को संरचना र नेपालको संकट
विश्वकप लिग २ नेपाली क्रिकेटको लाइफलाइन जस्तै हो । यसले नेपाली टीमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहन र बलिया प्रतिस्पर्धीहरुसँग लगातार मुकाबिला गर्न अवसर दिएको छ ।
लिग २ मा एसोसियट क्रिकेटका बलिया ८ राष्ट्र (अमेरिका, नेदरल्याण्ड्स, स्कटल्याण्ड, क्यानडा, नामिबिया, ओमान, युएई र नेपाल)हरु सहभागी छन् । प्रत्यक टिमले एउटा लिग २ सर्कलमा तीन बर्षभित्र ३६ वटा म्याच खेल्छन् ।
सर्कल पूरा भएपछि अंक तालिकामा टप ४ मा रहने टीमले एकदिवसीय विश्वकपको क्वालिफायर खेल्न पाउने प्रावधान छ ।
साथै उनीहरुको एकदिवसीय मान्यता थप ४ वर्षका लागि सुरक्षित बन्नेछ । क्वालिफायरमा टप २ हुने टीम एकदिवसीय विश्वकपमा छनोट हुन्छन् ।
नेपालले लिग २ बाट सोझै एकदिवसीय विश्वकपको क्वालिफायर खेल्ने सम्भावना समाप्त भइसको छ । तर, क्वालिफायर खेल्नका लागि अन्तिम विकल्प बाँकी छ ।
लिग २ को ‘बटम ४’ मा रहने टीमहरुले ‘विश्वकप क्वालिफायर प्लेअफ’ खेल्न पाउनेछन् । ८ टिम सहभागी हुने प्लेअफको टप ४ मा रहने टीमले पनि विश्वकप क्वालिफायर खेल्न सक्नेछन् । साथै, उनीहरुको एकदिवसीय मान्यता पनि सुरक्षित हुनेछ ।
यस हिसाबले लिग २ मा टप ४ मा नरहनेवित्तिकै नेपाली समर्थकहरु आत्तिइहाल्नुपर्ने हुँदैन । नेपालले जारी सिरिजमा नेदरल्याण्ड्ससँग एक म्याच खेल्न बाँकी छ । त्यसमा जित निकालेर अब बाँकी श्रृंखलामा पनि राम्रो प्रदर्शन गरेमा टप ६ सम्म अटाउन सक्छ ।
यद्यपी अरु टीमहरुको प्रदर्शनमा पनि भर पर्नेछ । नेपालले अब ओमान र क्यानडाविरुद्ध लिग २ को श्रृंखला खेल्नेछ, जुन सम्भवत अन्तिम पनि हुनसक्छ ।
नेपालका लागि एक दिवसिय विश्वकपभन्दा पनि महत्वपूर्ण चाहिँ एकदिवसीय मान्यता हो । यदि दिवसीय मान्यता गुमायो भने त्यो नेपाली क्रिकेटका लागि ठूलो सेटब्याक हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एकदिवसीय मान्यता गुमेमा नेपालको क्रिकेट धराशयी हुने र नेपाल प्रिमियर लिगको पनि क्रेज सकिने चेतावनी दिइसकेका छन् ।
लिग २ मा बटम ४ मा रहेका राष्ट्रहरु र विश्वकप च्यालेन्ज लिगका शीर्ष ४ टोलीबीच प्लेअफ भिडन्त हुनेछ । विश्वकप च्यालेन्ज लिग भनेको आइसीसीले गराउने लिग २ भन्दा तल्लो स्तरको प्रतियोगिता हो । यसबाट आउने ४ टिम लिग २ बाट आउने ४ टीमभन्दा तुलनात्मकरुपम कमजोर हुन्छन् ।
लिग २ को अहिलेको चक्रमा जर्सी, सिंगापुर, भानुआटु, पपुवा न्युगिनी, हङकङ, बर्मुडा, युगान्डा, केन्या लगायत टीमहरु छन् । यीमध्ये टप ४ मा रहने टिमले प्लेअफ खेल्ने हुन् ।
नेपालले आफ्नो स्तरअनुसार खेलेमा यी टीमहरुलाई हराउन सक्छ । प्ले अफको टप ४ मा रहेर नेपालले एकदिवसिय मान्यता जोगाउने ठूलो आशा छ । अन्यथा नेपाली क्रिकेटको दुर्दिन सुरु हुनेछ ।
