ठगीको नयाँ शैली : अनलाइन बुकिङ गरेर ट्याक्सी चालकबाटै रकम असुल्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (७ घण्टा अघि)
  • २४ पटक पढिएको
ठगीको नयाँ शैली : अनलाइन बुकिङ गरेर ट्याक्सी चालकबाटै रकम असुल्ने

काठमाडौ, १३ जेठ। अनलाइन ट्याक्सी बुक गर्ने, चढ्ने अनि भाडा दिनुको साटो उल्टै ट्याक्सी चालकबाट रकम असुलेर बीच बाटोबाटै फरार हुने । त्यो पनि एक पटक होइन, पटकपटक ।

काठमाडौंमा ट्याक्सी चालकलाई हैरान पार्दै एक युवकले दर्जन बढी ट्याक्सी चालकसँग यस्तै शैलीमा रकम असुलेको पाइएको छ ।

राइड सेयरिङ एपमार्फत ट्याक्सी सर्च गरेपछि ग्राहकको पर्खाइमा बसेका चालक मख्ख पर्दै असेप्ट बटम थिच्छन् । र, यात्रु लिन सम्बन्धित लोकेसनमा पुग्छन् ।

हेर्दा भर्खरका लक्का जवान, सुकिलो–मुकिलो देखिने युवक ट्याक्सी चढ्छन् । तर चालकलाई भाडा दिनुको साटो उल्दै चालकबाटै रकम लिएर बेपत्ता हुन्छन् । निरन्तर यो शैलीमा ट्याक्सी चालकलाई ठगी गर्ने युवक हुन्– २३ वर्षीय आयुष पाण्डे ।

नुवाकोटको विदुर नगरपालिका–१ क्यउरिनी घर भई मनमैजु बस्ने पाण्डेले ट्याक्सी चालकलाई प्रभावित पार्ने, विश्वास दिलाउने र रकम लिएर हिँड्ने गरेको पाइएको छ ।

उनीविरुद्ध ९ जना ट्याक्सी चालकले त प्रहरीमा उजुरी नै दिएका छन् । सबै पीडित ट्याक्सी चालकको बेहोरा पनि एकै किसिमको छ ।

बागमती प्रदेश ०१–००२ ज ८१३० नम्बरका ट्याक्सी चालकले दिएको जाहेरी अनुसार १४ वैशाख साँझ करिब ७ बजेतिर आयुष पाण्डे नाम गरेका व्यक्तिले अनलाइनमार्फत ट्याक्सी बुक गरे । उक्त ट्याक्सी मनमैजुबाट कीर्तिपुर जान भनेर बुक गरिएको थियो ।

ती ट्याक्सी चालकले असेप्ट गरे र पाण्डेलाई लिएर कीर्तिपुर हिँडे । अनि पाण्डेले ट्याक्सी चालकलाई भने, ‘आमा विदेश जानका लागि आउँदै हुनुहुन्छ । बच्चाहरूलाई टीका लगाइदिन आमालाई पैसा दिनु पर्ने, मसँग नगद भएन । बाटोमा एटीएमबाट निकालेर दिन्छु, ५ हजार दिनुस् न ।’

पाण्डेको कुराबाट प्रभावित चालकले ५ हजार निकालेर दिए । बीच बाटोमा पुगेपछि यहाँनेर एटीएम रैछ । रोक्नु त म पैसा निकालेर आउँछु भनेर ट्याक्सीबाट झरेका पाण्डे बेपत्ता भए ।

केहीबेर ट्याक्सी चालक कुरेर बसे । उनी आएनन् । मोबाइलमा फोन गर्दा अफ भइसकेको थियो । त्यसपछि बल्ल उनले आफू ठगिएको पत्तो पाए । यो शैली अपनाएर पाण्डेले ९ ट्याक्सी चालकलाई ठगी गरेको पाइएको छ ।

ट्याक्सी चालकको उजुरीपछि पक्राउ परेका पाण्डेले पनि ठगी गरेको स्वीकारेका छन् । उनले साथीहरू पवन तामाङ र प्रवेश तामाङसमेत तीन जना भएर ट्याक्सी चालकलाई ठगी गर्ने योजना बनाएर ठगेको बयानमा बताएका छन् । दुई जना भने अहिले फरार छन् ।

पाण्डेविरुद्ध ९ जना ट्याक्सी चालकलाई ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । न्यायाधीश विमल रेग्मीको इजलासमा उनको सुनुवाइ भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस