
काठमाडौं, १५ असार। धनकुटामा करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलोग्राम गाँजासहित पाख्रीबास नगरपालिका–१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कुँवरलाई पक्राउ गरिएकाे हाे ।
ट्रकको ढालाभित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परीक्षणलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
