डोजर आतंकबाट हरवाचरवा समुदाय त्रसित, सुरक्षित पुनःस्थापनाको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (२७ मिनेट अघि)
  • १८ पटक पढिएको
डोजर आतंकबाट हरवाचरवा समुदाय त्रसित, सुरक्षित पुनःस्थापनाको माग

काठमाडौ, ११ जेठ। मधेश प्रदेशका हरवाचरवा समुदायले तीन तहकै सरकारले चलाएको ‘डोजर आतंक’ का कारण त्रासपूर्ण जीवन बिताउन बाध्य भएको गुनासो गरेका छन् । जनकपुरधाममा आयोजित ‘कामको स्वतन्त्र छनोट, समान ज्याला तथा पुनःस्थापना प्याकेज’ सम्बन्धी कार्यक्रममा सहभागी हरवाचरवा अगुवाहरूले एकातिर सरकारले आवास निर्माण गर्ने र अर्कोतर्फ त्यही बस्ती खाली गराउन डोजर चलाउने चेतावनी दिने गरेको बताएका हुन् ।

हरवाचरवा अधिकार मञ्च की कोषाध्यक्ष राजवती मण्डल ले मधेशका अधिकांश हरवाचरवा परिवार ऐलानी तथा सार्वजनिक जग्गामा पुस्तौँदेखि बसोबास गर्दै आएको बताइन् । उनले सिरहाको नवराजपुर गाउँपालिका–४ नरहियामा हालै ५० भन्दा बढी दलित हरवाचरवा परिवारको घर भत्काइएको उल्लेख गर्दै पीडितहरू खुला आकाशमुनि बस्न बाध्य भएको बताइन् ।

मञ्चका महासचिव लागेन्द्र सादाका अनुसार मधेश प्रदेशमा एक लाखभन्दा बढी हरवाचरवा परिवार रहेका छन्, जसमध्ये अधिकांश सार्वजनिक वा नदी उकास जमिनमा फुसको घर बनाएर बस्दै आएका छन् । समुदायले सुरक्षित पुनःस्थापना, परिचयपत्र, समान ज्याला, शिक्षा, स्वास्थ्य र रोजगारीको माग गर्दै आन्दोलन जारी राखेको जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले सरकारले तोकेको न्यूनतम ज्याला कार्यान्वयन गर्न तथा हरवाचरवा समुदायको पुनःस्थापनाका लागि ठोस योजना ल्याउन माग गरेका छन् । कार्यक्रममा प्रदेश सांसदहरू जीवछी यादव, भाग्यश्री चौधरी लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस