देउवाको तामझामपूर्ण स्वदेश फिर्ती, कांग्रेसमा शक्ति संघर्ष चर्किने संकेत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (७ घण्टा अघि)
  • ४८ पटक पढिएको
देउवाको तामझामपूर्ण स्वदेश फिर्ती, कांग्रेसमा शक्ति संघर्ष चर्किने संकेत

काठमाडौं, २८ साउन। सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् ।

आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कर्टिङसहित धुम्बाराहीस्थित निवाससम्म पुर्‍याइएको थियो ।

पाँच महिना लामो विदेश बसाइपछि आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई समर्थक तथा नेता–कार्यकर्ताको उल्लेख्य भिडले स्वागत गरेको थियो ।

विमानस्थलको गोल्डेन गेट अगाडि भेला भएका समर्थकहरूले खादा–माला, बाजागाजा र ब्यानरसहित उनको स्वागत गर्दै नाराबाजी गरेका थिए ।

गाडीको सनरुफबाट समर्थकहरूतर्फ हात हल्लाउँदै देउवाले अभिवादन फर्काएका थिए ।

पूर्वप्रधानमन्त्री देउवाको स्वागतमा विमानस्थलमा साँस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

उपचारका लागि भन्दै विदेश गएका थिए देउवा

२४ भदौ २०८२ सालमा भएको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी र लुटपाट भएको थियो । सोही क्रममा देउवा दम्पतीमाथि सांघातिक आक्रमणसमेत भएको थियो ।

आक्रमणबाट घाइते भएपछि लामो समय काठमाडौं उपत्यकाकै अस्पतालमा उपचार गराएका देउवा १३ फागुन राति उपचारका लागि भन्दै पत्नी आरजु राणा देउवासहित सिंगापुर गएका थिए । उनीहरू ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए ।

देउवा स्वदेश फर्किए पनि आरजु भने विदेशमै रहेको स्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको कानुनी पाटो

जेनजी आन्दोलनका क्रममा आगजनी भएको बूढानीलकण्ठस्थित देउवा निवासमा जलेका नोटका टुक्रा फेला परेको समाचार सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चासो राख्दै उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो ।

विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।

उनीहरूलाई विदेशबाट नेपाल फर्काउने उद्देश्यले सरकारले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गराउने प्रयाससमेत गरेको थियो । तर, आरोप पुष्टि हुने पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न भने अस्वीकार गरेको थियो ।

अब देउवा स्वदेश फर्किएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान र अदालतबाट जारी पक्राउ पुर्जीको कार्यान्वयनको विषय फेरि चर्चामा आएको छ । सम्बन्धित निकायले अब अनुसन्धानलाई कसरी अघि बढाउँछन् भन्ने चासोसमेत बढेको छ ।

कांग्रेसको शक्ति संघर्षमा पनि प्रभाव

देउवाको स्वदेश फिर्ती कांग्रेसभित्रको शक्ति संघर्षका दृष्टिले पनि अर्थपूर्ण मानिएको छ ।

कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको पूर्वसन्ध्यामा देउवा स्वदेश फर्किएका हुन् ।

विशेष महाधिवेशनमार्फत गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको आधिकारिकता विवाद र देउवा पक्षका नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलाले पार्टीभित्रको विवादलाई थप पेचिलो बनाउने देखिन्छ ।

देउवाको अनुपस्थितिमा लामो समयदेखि सक्रिय रहेको पार्टीभित्रको शक्ति समीकरणमा उनको प्रत्यक्ष उपस्थितिले नयाँ राजनीतिक बहस जन्माउने सम्भावना छ ।

विशेषगरी कांग्रेसको नेतृत्व, आधिकारिकता र आगामी राजनीतिक रणनीतिबारे देउवा पक्षको भूमिका कस्तो हुन्छ भन्नेमा चासो बढेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस