धम्की दिएर घरजग्गा कब्जा गरेको आरोप, अभिषेक गिरीविरुद्ध २१ करोडको मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १५, शुक्रबार (३ घण्टा अघि)
  • ५३ पटक पढिएको
धम्की दिएर घरजग्गा कब्जा गरेको आरोप, अभिषेक गिरीविरुद्ध २१ करोडको मुद्दा

काठमाडौँ, १५ साउन। विवादित पुष्ठभूमिका नेपाली कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोड बढीको ठगी मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा दायर गरेको हो । उनीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा गिरीलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान अघि बढाएको थियो । कुनै समय गुन्डा नाइकेका रूपमा चर्चा पाएका अभिषेक गिरी अहिले फेरि पुरानै धन्दामा लागेर धम्क्याउँदै ठगी गरेको आरोप छ ।

उनले व्यवसायी श्रेष्ठको बूढानीकलण्ठको घरजग्गाका साथै गाडीहरू समेत कब्जा गरेको आरोप छ । व्यवसायी श्रेष्ठको गाडी कब्जा गरेर कवाडीमा बेच्ने काम पनि गरेको अनुसन्धानमा देखिएको छ ।

ना १ क १७३७ नम्बरको स्काभेटर उनले ३० लाखमा कवाडीमा बेचेको पाइएको छ । त्यस्तै व्यवसायीको श्रेष्ठको लु १ क १५०६ नम्बरको टिपर ४० लाखमा बेचेको पनि भिडियो प्रमाण फेला परेको सीआईबीले बताएको छ ।

श्रेष्ठ कन्ट्रक्सन प्रालिको नबिल बैंकको खाली चेक जबरजस्ती लिई ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ बराबरको उल्लेख गरी बाउन्स गरी ठगी गर्न खोजेको आरोप छ । हेटौंडाको जग्गा बैना बापत १ करोड ३० लाख लिई कब्जा गरेको आरोप छ ।

१३ करोड ८७ लाख १५ हजार ५ सय रुपैयाँ गिरीले विश्वासघात गरेको कारण नबिल बैंकले फोर्स लोन बुक गरी भुक्तान गरेको थियो ।

त्यस्तै बूढानीलकण्ठको ३ करोड ८७ लाख पर्ने घरजग्गा विश्वासघात गरी कब्जा गरेको पनि आरोप छ । व्यवसायी श्रेष्ठको पानी ट्यांकर, ट्रिपर र ग्रेडर पनि गिरीले कब्जा गरेको आरोप छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद बसेर ५ चैत २०७९ मा गिरी छुटेका थिए । कारागारबाट निस्केका गिरीको दादागिरी कारागार भित्रदेखि बाहिरसम्मै फैलियो ।

गिरीले धम्क्याएरै काठमाडौंमा घर कब्जा गरेको सीआईबीले बताएको छ । श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक तथा निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई गिरीले विभिन्न व्यक्तिसँग चिनजान तथा पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ ।

गिरी गत २१ फागुनको निर्वाचनमा उनी कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमान्डरको रूपमा मोरङ–४ मा खटिएका थिए । राजनीतिक जीवनमा प्रवेश गरेको दाबी गर्दै आएका गिरी कांग्रेसको विराटनगर महानगर समिति सभापतिको दाबेदार पनि थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस