नयाँ सदस्यता विस्तारमा कांग्रेसको जोड, ३५ वर्षमुनिका युवामाथि विशेष ध्यान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १२, शुक्रबार (१ घण्टा अघि)
  • ३९ पटक पढिएको
नयाँ सदस्यता विस्तारमा कांग्रेसको जोड, ३५ वर्षमुनिका युवामाथि विशेष ध्यान

काठमाडौं, १२ असार। नेपाली कांग्रेसले आसन्न १५औं महाधिवेशनका लागि ३५ वर्षमुनिका युवालाई लक्षित गरी देशभर क्रियाशील सदस्यता विस्तार अभियान सुरु गरेको छ ।

कांग्रेसले हाल कायम क्रियाशील सदस्य संख्याको २५ प्रतिशत नयाँ थपिने सदस्यमध्ये ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न देशव्यापी अभियान सुरु गरेको हो ।

महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले केन्द्रीय प्रतिनिधिहरू खटाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

उनका अनुसार केन्द्रीय प्रतिनिधिहरूले २० असार २० सम्म तोकिएको जिल्लामा उपस्थित भएर समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्ने छन् ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक रहेका महामन्त्री प्रदीप पौडेलले नयाँ सदस्यता विस्तारमा सहजीकरणका लागि ७७ जिल्लामा प्रतिनिधिहरू खटाइएको बताए ।

‘७७ जिल्लामा अहिले नयाँ प्रतिनिधिहरू खटिनु भएको छ,’ उनले भने, ‘उहाँहरू नयाँ सदस्यता विस्तार, थप वितरण र सहजीकरणका लागि जिल्ला भएको हो ।’

कांग्रेसले समावेशी समुदाय र ३५ वर्षमुनिका युवालाई प्राथमिकतामा राखेर नयाँ क्रियाशील सदस्यता वितरण गरिने जनाएको छ । पार्टीले हालको सदस्य संख्याको २५ प्रतिशत नयाँ सदस्य थप्ने लक्ष्य राखेको महामन्त्री पौडेलले बताए ।

‘हामीले हालको सदस्य संख्याको २५ प्रतिशत नयाँ क्रियाशील सदस्य थप्ने निर्णय गरेका छौं,’ उनले भने, ‘यसमा समावेशी समुदायको सहभागिता बढाउने र ३५ वर्षमुनिका युवालाई बढीभन्दा बढी क्रियाशील सदस्य बनाउने हाम्रो उद्देश्य हो ।’

उनले केन्द्रीय प्रतिनिधिहरूलाई २० असारसम्म नयाँ क्रियाशील सदस्यता वितरणको काम गर्न भनिए पनि आवश्यकताअनुसार समय थप्न सकिने बताए ।

‘सदस्यता वितरणको समयसीमा असार २० गतेसम्मको छ,’ संयोजक पौडेलले अनलाइनखबरसँग भने, ‘आवश्यकताअनुसार थप्न सक्ने स्थिति हुन्छ ।’ तर १६–१९ असोजमा १५औं महाधिवेशन गर्नुपर्ने भएकाले धेरै समय नरहेको पौडेलको भनाइ छ ।

‘समयको पाबन्दी छ । प्रतिनिधि जाने साथीहरूलाई छोटो समयमा तपाईंहरूले सम्पर्क गरेर, जिल्लामै पुगेर साथीहरूलाई नयाँ क्रियाशील सदस्यता थप गर्नका निम्ति मद्दत गरिदिनु होला, सूचना पुर्‍याइदिनु होला, सदस्यता धेरैभन्दा धेरै बनाउने कार्यमा नेतृत्व गरिदिनु होला भनेर पठाएका छौं,’ पौडेलले भने ।

कांग्रेसले १५औं महाधिवेशनमा तीन लाख नयाँ क्रियाशील सदस्य थप गर्ने लक्ष्य राखेको छ । ‘क्रियाशील सदस्यता तीन लाखको हाराहारीमा थप गर्न सकिन्छ भन्ने हाम्रो अनुमान छ,’ महामन्त्री पौडेलले भने, ‘टार्गेट पनि त्यही हो ।’

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका अनुसार पुराना क्रियाशील सदस्यहरूमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले अद्यावधिक गरेका छन् । एक लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि पेस गरेका फारमहरू प्रक्रियामा रहेको समितिको भनाइ छ ।

क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ जना सदस्यका लागि समितिले २८ जेठ राति १२ बजेसम्मका लागि समयसीमा तोकेको थियो ।

समयसीमा सकिएलगत्तै समितिले विज्ञप्ति जारी गरी इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ तथा कांग्रेससँग आवद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने भनेको थियो ।

स्रोतका अनुसार कांग्रेसको नयाँ क्रियाशील सदस्यताका लागि झण्डै ३५ हजार जनाले फारम भरेका छन् । ‘नयाँ मेम्बरसिपका लागि सेल्फ एप्लाइ गर्ने भनिएको छ,’ स्रोतले भन्यो, ‘त्यो ३०–३५ हजारको संख्यामा हुन सक्छ ।’

विशेष महाधिवेशन अगावै १५औं महाधिवेशनमा नयाँ क्रियाशील सदस्यता वितरण गर्न केन्द्रीय कार्यालयबाट फारम लगेका कतिपय क्षेत्रीय सभापतिहरूले फारमअनुसार ‘इन्ट्री’ नगरेको कांग्रेसको भनाइ छ ।

महामन्त्री पौडेलले देशभरका ३४ निर्वाचन क्षेत्रले नयाँ क्रियाशील सदस्यता फारम केन्द्रबाट लगे पनि सिस्टममा इन्ट्री नगरेको बताए । ‘कुनै क्षेत्रमा नयाँ क्रियाशील सदस्यता वितरण नै नभएको स्थिति पनि छ,’ उनले भने, ‘पहिले वितरणका निम्ति फारम लगिएको तर नयाँ सदस्य सिस्टममा इन्ट्री नभएका केही क्षेत्रहरू छन् । अहिले हाम्रो अनुमानमा ३४ वटा क्षेत्रहरू छन् ।’

कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि खटाएका केन्द्रीय प्रतिनिधिहरूबाट थप उद्देश्य प्राप्तिको अपेक्षा गरेको छ । केन्द्रीय प्रतिनिधि खटिएका एक नेताका अनुसार पार्टीले उनीहरूलाई तल्लो तहका जानकारीहरू लिएर केन्द्रमा रिपोर्टिङ गर्न भनेको छ ।

महामन्त्री पौडेलले पनि पार्टीका विभिन्न तहका जानकारीहरू लिनका लागि प्रतिनिधि खटाइएको पुष्टि गरे । उनले केन्द्रीय प्रतिनिधिहरूबाट पार्टीले लिन खोजेको जानकारीबारे पनि अनलाइनखबरलाई बताए ।

‘हरेक वडामा कम्युनिकेसनका लागि एक जना फोकल पर्सन तोक्ने भनेका छौं, एउटा त्यो उद्देश्य हुन्छ,’ पौडेलले भने, ‘अर्को हामीले आगामी अधिवेशनमा वडा सभापतिहरू नै ३५ वर्षभन्दा तलका आधाभन्दा बढी बनाउने लक्ष्य राखेका छौं ।’

वडा सभापतिहरूबाटै वडाध्यक्ष बनाउने, धेरैभन्दा धेरै वडाध्यक्षहरू ३५ वर्षभन्दा कम उमेरका बनाउने पार्टीको लक्ष्य रहेको उनले बताए ।

‘महिलाहरूलाई त्यहीअनुसार वडाध्यक्ष, वडा सभापतिको जिम्मेवारी दिने पनि हाम्रो प्रयास रहेको छ,’ महामन्त्री पौडेलले भने, ‘त्यसैले यी सबै कुराहरूसँग जोडेर पार्टीको तल्लो तहका जानकारीहरू लिन प्रतिनिधि खटाएका हौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस