
काठमाडौँ, १४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ । पार्टीले आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ ।
रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले आज सामाजिक सञ्जालमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण र सुशासनको आधार निर्माण गर्ने उद्देश्यका साथ ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।
उनका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई केवल चुनावी प्रतिस्पर्धाका रूपमा नभई तल्लो तहसम्म इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने अभियानका रूपमा पार्टीले लिएको छ ।
यही उद्देश्यलाई कार्यान्वयन गर्न उम्मेदवार छनोटको पहिलो चरणस्वरूप ‘क्यान्डिडेट क्लब’ मा आवेदन आह्वान गर्न लागिएको उनले उल्लेख गरेका छन् ।
महामन्त्री आचार्यले परम्परागत राजनीतिक दलहरूले अपनाउँदै आएको अपारदर्शी उम्मेदवार छनोट प्रणालीलाई परिवर्तन गर्दै रास्वपाले थप लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक तथा आधुनिक प्रणालीमार्फत उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको बताएका छन् ।
उनले उम्मेदवार छनोटको प्रारम्भिक रूपरेखा तयार भइसकेको जनाउँदै त्यसलाई अझ प्रभावकारी, व्यावहारिक र जनमुखी बनाउन पार्टीभित्र व्यापक छलफल चलिरहेको जानकारी दिएका छन् ।
हाल पार्टीका विभिन्न संरचना, नेता–कार्यकर्ता तथा आम सदस्यहरूबाट सुझाव सङ्कलन गर्ने काम भइरहेको उनले बताएका छन् । आचार्यका अनुसार उम्मेदवार छनोटको मापदण्ड, मूल्याङ्कन प्रणाली तथा प्रक्रियालाई अन्तिम रूप दिनुअघि प्राप्त सुझावलाई प्राथमिकताका साथ समेटिनेछ । यसले उम्मेदवार छनोटलाई निष्पक्ष, विश्वसनीय र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
उनले पार्टीले तयार पारेको उम्मेदवार छनोटसम्बन्धी दस्तावेज गम्भीरतापूर्वक अध्ययन गरी रचनात्मक सुझाव दिन सबै सदस्य, शुभेच्छुक तथा सरोकारवालासँग आग्रह गरेका छन् । व्यापक सहभागिता र सुझावका आधारमा तयार हुने प्रणालीले स्थानीय तहका लागि योग्य नेतृत्व चयन गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
