
काठमाडौं, २६ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले ढुक्क भएर नेपालमा लगानी गर्न निजी क्षेत्रलाई अनुरोध गरेका छन् ।
‘यो सम्मानीत सदनमा सम्माननीय सभामुख मार्फत निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु,’ उनले संसद् बैठकमा भनेका छन्, ‘लगानी बोर्ड छ, उद्योग विभाग छ । सहजीकरण गर्नका लागि समस्या भए हामीलाई खबर गर्न सक्नु हुन्छ ।’
सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको उदेश्य लिएको छ । यसका लागि राज्यको मात्र लगानीले नपुग्ने गजुरेल बताउँछन् ।
आर्थिक वृद्धिको लक्ष्य भेटाउन निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सम्बन्धित कानुन लगायत अन्य नीतिगत सुधार गरेको बताए ।
तथापि, बैंकमा पैसा रहेको तर व्यवसयीले कर्जा लिन नचाहिरहेको अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘व्यवसायीमा जोखीम लिने आत्माविश्वास घटेको अनुभव गर्न सकिन्छ । त्यसलाई बुस्ट गर्न सरकारले थप सोच्नु पर्यो ।’
यस सन्दर्भमा सरकारले तीनवटा काम तत्काल गर्नुपर्ने उनको आग्रह छ ।
नीतिगत स्थिरता, लगानीको सुरक्षा र कर्जालाई उत्पादनसँग जोड्ने नीति लिन सरकारलाई उनको आग्रह छ ।
उनी भन्छन्, ‘यसले निजी क्षेत्रलाई उद्योग,पर्यटन, ऊर्जा, कृषि, प्रविधि,खानी क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुन्छ ।’
