नेपाल–बेलायतबीच दोहोरो कर अन्त्य गर्ने तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (९ घण्टा अघि)
  • ४४ पटक पढिएको
नेपाल–बेलायतबीच दोहोरो कर अन्त्य गर्ने तयारी

काठमाडौं, १९ असार। नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपाल तथा बेलायतबीच दोहोरो कर हटाउने सम्झौता गर्न तयारी भइरहेको बताएका छन् ।

ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सद्वारा लन्डनस्थित नेपाली दूतावासमा बिहीबार बेलुका आयोजित ‘युके-नेपाल बिजनेस एण्ड इन्भेस्टमेन्ट फोरम डिनर’ लाई सम्बोधन गर्दै राजदूत फेनले नेपालको नव निर्वाचित सरकारले देशमा विदेशी लगानी भित्र्याउन सक्दो पहल गरिरहेको बताउँदै यसबारे जानकारी दिएका हुन् ।

वर्तमान सरकार गठन हुनासाथ नेपालमा विदेशी लगानी भित्र्याउन थुप्रै नीतिगत निर्णयहरु लिएको बताउंदै उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ल्याएको नयाँ बजेटको प्रशंसा गरे।

कार्यक्रमका प्रमुख वक्ता रहेका राजदूत फेनले बेलायतकी इन्डो प्यासिफिक तथा समानता मन्त्री सीमा मलहोत्राले हालै नेपालको भ्रमण गरेको उल्लेख गर्दै सूचना प्रविधि तथा एआइको क्षेत्रमा नेपालीहरुले विश्व बजारमा सेवा प्रदान गर्दै आएको जनाए।

उनले युके-नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न निरन्तर प्रयास गरेकोमा ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सलाई धन्यवाद पनि दिए।

बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल–बेलायतबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउन दूतावास निरन्तर प्रयासरत रहेको बताए।

उनले नयाँ सरकारका नीति बारे चर्चा गर्दै ब्रिटिस लगानीकर्ताहरुलाई कुनै पनि समस्या परे सहजीकरण गर्न दूतावास तयार रहेको जनाए।

ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्टले नेपाल र बेलायतबीचको व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउन संस्थाले काम गर्दै आएको जनाए। उनले नेपालमा लगानी गर्न अहिले उपयुक्त वातावरण रहेको जनाउँदै ब्रिटेनस्थित नेपाली डायसपोराले यसमा पहल गरिरहेको पनि बताए।

कार्यक्रम सञ्चालन ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष इन्द्र गिरीले गरेका थिए।

फोरममा नेपाल र बेलायतका कूटनीतिक प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, च्याम्बरका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो।

लन्डनस्थित नेपाली दूतावास तथा ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सद्वारा शुक्रबार एक सेमिनार आयोजना गरी दुई देशबीचको द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवर्द्धन, व्यवसायिक सञ्जाल विस्तार तथा बेलायतमा रहेका नेपाली समुदायको आर्थिक भूमिकालाई थप प्रभावकारी बनाउने बारे छलफल गरिने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस