पद्मकन्या क्याम्पसको लापरबाही : १,३६४ विद्यार्थीको डाटा र प्रवेशपत्र लिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १५, शुक्रबार (२ घण्टा अघि)
  • ४८ पटक पढिएको
पद्मकन्या क्याम्पसको लापरबाही : १,३६४ विद्यार्थीको डाटा र प्रवेशपत्र लिक

काठमाडौँ, १५ साउन। पद्मकन्या बहुमुखी क्याम्पसको पेज र ग्रुपमा एउटा ‘क्यूआर कोड’ आयो । उक्त क्यूआर कोडसँगै पोस्ट गर्दा लेखिएको थियो – बीए, बीबीएस र बीएससी प्रथम वर्ष प्रवेशपत्र सम्बन्धी सूचना ।

उक्त क्यूआर कोड स्क्यान गर्दा विद्यार्थीका प्रवेशपत्र असरल्ल थिए । त्यसपछि ती विद्यार्थी आत्तिइन् । आफ्नो सबै डिटेल्स त्यसरी सार्वजनिक भएकोमा आक्रोशित भइन् ।

कारण, उनले आफू त्यसरी पढिरहेको कसैलाई भनेकी थिइनन् । उमेरभन्दा ढिला पढाइ गरेकामा उनले आफू निकटहरूबाट ‘लुकीलुकी’ कक्षा धाइरहेकी थिइन् ।

‘तर, अब कलेजले सबै त्यसरी हालिदिने रहेछ । अरूका लागि सामान्य होला, मेरो लागि त बर्बाद नै भयो,’ ती छात्राले भनिन् ।

उनका अनुसार, कलेजले त्यसरी आएको प्रवेशपत्र प्रिन्ट गर्न भनेको छ । प्रिन्ट गरेर मात्र पुग्दैन, त्यसलाई पुनः स्ट्याम्प लगाउन कलेज नै पुग्नुपर्छ । ‘यदि फेरि कलेज नै जानुपर्ने भए किन त्यस्तो रिस्क लिइदिएको,’ उनले थपिन् ।

त्यसपछि हामीले अन्य संकायका विद्यार्थीसँग पनि कुरा गर्यौँ । भर्खर प्रथम वर्षमा भर्ना गरेकाले कुनै नाम खुलाएर बोल्नु उनीहरूका लागि जोखिम थियो ।

त्यसैले नाम नखुलाउने सर्तमा ती विद्यार्थीले आफूहरूमाथि ‘साइबर अपराध’ सरह भएको अनलाइनखबरसँग बताए ।

बीए संकायकी अर्की छात्राका अनुसार, उनले जब यसरी क्यूआर सार्वजनिक भएको हेरिन्, त्यसपछि नतिजालाई लिएर चिन्तित सुनिइन् ।

जब परीक्षाको नतिजा आउँछ, त्यसबेला कायम गर्नुपर्ने गोपनियता अरू साथीहरूले हेरिदिने चिन्ता उनमा थियो । ‘रिजल्ट आएपछि सबैले देख्छन् । सबैको राम्रै हुन्छ भन्ने हुन्न । यस्ता कुरामा क्याम्पसले संवेदनशीलता अपनाउनुपर्ने होइन ?,’ उनले भनिन् ।

बीबीएस र बीएससी संकायका विद्यार्थीहरूको चिन्ता पनि उस्तै छ । उनीहरूलाई पनि यसरी डाटा लिक भएको चित्त बुझेको छैन । ‘गोपनीयता प्रमुख कुरा हो । यसमै हेलचेक्र्याइँ हुनु ठीक होइन । हामीले के पढेको, कहाँ पढेको सबै सार्वजनिक रूपमै राखिएको छ,’ बीएससी छात्रा अर्की विद्यार्थीले भनिन् ।

कति डाटा बाहिरिए ?

पद्मकन्या क्याम्पसको पेजमै तीनवटा क्यूआर कोड राखिएको ग्राफिक्स फोटो हालिएको छ । हरेक क्यूआरको मुनितिर कुन संकायको हो भनेर छुट्टाइएको छ । ती क्यूआर स्क्यान गर्दा एउटा साइटमा पुगिन्छ, जसमा वाच टु कन्टिनियुमा थिचेपछि प्रवेशपत्र भेटिन्छ ।

उक्त पीडीएफ ड्राइभमा क्रमशः सबै विद्यार्थीका प्रवेशपत्र राखिएका छन् । प्रवेशपत्रमा विद्यार्थीका नाम–फोटो र शैक्षिक विवरण सबै खेलेका छन् । यी सबै कुरा सार्वजनिक हुँदा विद्यार्थी चिन्तित बनेका हुन् ।

यसरी प्रवेशपत्र बाहिरिनेमा चार वर्षे स्नातक बीएका ५१७ जना विद्यार्थीको विवरण छ । त्यस्तै, चार वर्षे बीएससीका ११६ जना विद्यार्थीको विवरण सार्वजनिक रूपमै राखिएको छ भने सबैभन्दा धेरै चार वर्षे बीबीएसका विद्यार्थीको छ । ७६१ जना बीबीएस अध्ययनरत विद्यार्थीका प्रवेशपत्र बाहिरिएका छन् । यी सबै एक हजार ३६४ विद्यार्थी स्नातक प्रथम वर्षमा अध्ययनरत छन् ।

विद्यार्थीलाई कलेजले बताएअनुसार अब यो प्रवेशपत्र उनीहरुले प्रिन्ट गरेर कलेजमा जानुपर्छ र त्यहाँको आधिकारिक स्ट्याम्प लगाउनुपर्छ । त्यसपछि मात्र यसले मान्यता पाउँछ ।

यद्यपि, पद्मकन्यामा अध्ययनरत अन्य विद्यार्थीका अनुसार यसरी प्रवेशपत्र पठाउने यो कलेजको चलन नयाँ भने होइन । यसअघिका वर्षमा पनि पठाउने गरेको अनुभव चौथो वर्षमा अध्ययनरत एक छात्राले अनलाइनखबरसँग बताइन् । तर, यसरी प्रवेशपत्र स्ट्याम्प लगाउन जाँदा कलेजका लापरबाही पनि उस्तै देखेको ती छात्राले बताइन् ।

‘म मास्क लगाएर नै कलेज पुगेको थिएँ । प्रशासनमा त्यो प्रवेशपत्र समाएर सिधै कलेजको साइन एड गरिदिनुभयो । मलाई मास्क खोल्न लगाउने वा आधिकारिता पुष्टि गर्ने काम नै भएन,’ उनले भनिन्, ‘यो अनुभव हामी धेरैको छ । यसरी त त्यो अब जो–कोहीले प्रिन्ट गरेर, आफ्नो फोटो परिवर्तन गरेर सिधै हलभित्र छिर्नसक्ला नि त ! सिरियसनेस देखिन्नँ ।’

पद्मकन्याकी प्रधानाध्यापक जयालक्ष्मी प्रधानले भनिन्, ‘हाम्रो उद्देश्य गलत हैन । विद्यार्थीलाई नै सहज होस् भनेर त्यसरी राखेका हौं । तर, तपाईंहरूले भनेपछि म पनि सोच्छु, हामी थप काम गर्छौं । अर्कोपटकबाट कसरी गर्न सकिन्छ हेर्छौँ ।’

उनले थपिन्, ‘डिजिटल समयमा विद्यार्थीलाई झन्झट हुनुभन्दा बरु सहजै पाउन् भनेर गरेका हौँ । यसले डाटा र प्राइभेसीको कुरा आएपछि हामीले अर्को तरिकाले सोच्नैपर्छ, सोच्छौँ।’

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयका नियन्त्रक लक्ष्मण पौडेलले भने यसरी सार्वजनिक गर्ने कुरा ठीक नभए पनि यसबारे आफूले सम्बन्धित कलेजसँग बुझेर प्रतिक्रिया दिने बताए । ‘अब त्यसरी सार्वजनिक त नगर्नुपर्ने हो । तर, म यसबारे पहिला कलेजसँग बुझ्छु । अनि मात्र के रहेछ भन्न सकिन्छ,’ पौडेलले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस