पाँचथरमा पाँच वर्षमा बाढीपहिरोले ४८ जनाको ज्यान लियो, ९ अझै बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१० घण्टा अघि)
  • ४८ पटक पढिएको
पाँचथरमा पाँच वर्षमा बाढीपहिरोले ४८ जनाको ज्यान लियो, ९ अझै बेपत्ता

पाँचथर, १२ साउन। पूर्वी पहाडी जिल्ला पाँचथरमा बर्खा लागेसँगै बाढी र पहिरोको त्रास दोहोरिन थालेको छ । वर्षा हुने ढाँचा बदलिँदै जाँदा मानवीय क्षतिसँगै सडक, पुल, खेतीयोग्य जमिन र पशुपालनमा समेत ठूलो असर परिरहेको छ ।

यस वर्ष पनि फालेलुङ र याङवरक गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । फालेलुङ गाउँपालिका–५ लुङ्मादिनमा गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन् भने सिंगो बस्ती नै जोखिममा परेको स्थानीय बताउँछन् ।

‘विस्थापित परिवारलाई विद्यालयमा सुरक्षित राखिएको छ । धेरै ठाउँमा जमिन भासिएको छ,’ पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले अनलाइनखबरसँग भने ।

पाँच वर्षमा ४८ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकअनुसार पछिल्ला पाँच आर्थिक वर्षमा बाढी–पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् भने ९ जना अझै बेपत्ता छन् ।

सबैभन्दा ठूलो क्षति आर्थिक वर्ष २०७८/७९ मा भएको थियो । त्यस वर्ष मात्रै ३५ जनाको मृत्यु भएको थियो । विशेषगरी मिक्लाजुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो । सोही वर्ष तीन परिवार विस्थापित भएका थिए भने १५ जना घाइते भएका थिए ।

त्यसपछि आर्थिक वर्ष २०७९/८० मा तीन, २०८१/८२ मा आठ र २०८२/८३ मा दुई जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

मानवीय क्षतिसँगै पाँच वर्षमा ८८९ परिवार बाढी–पहिरोबाट प्रभावित भएका छन् । तीमध्ये ३७६ परिवार विस्थापित भएका छन् ।

सडक र पुल बारम्बार बग्दै, खेती र पशुपालनमा पनि ठूलो असर

बाढी–पहिरोले खेतीयोग्य जमिन, अलैँची बारी तथा पशुपालन क्षेत्रमा पनि वर्षेनि क्षति पुर्‍याइरहेको छ ।

कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केशरबहादुर मरातीका अनुसार पछिल्ला वर्षहरूमा विशेषगरी खेतबारी र अलैँची खेतीमा बढी क्षति पुगेको छ ।

उनका अनुसार पछिल्ला पाँच वर्षमा बाढी–पहिरोका कारण दुई हजार ३९८ पशुचौपाया मरेका छन् ।

बाढी–पहिरोले जिल्लाको भौतिक पूर्वाधारलाई पनि निरन्तर क्षति पुर्‍याइरहेको छ ।

२०८१ सालमा हेवाखोलामा रहेको मेची राजमार्गको मोटरेबल पुल बाढीले बगाएको थियो । त्यसपछि निर्माण गरिएको बेलिब्रिज पनि २०८२ सालमा पुन: बाढीले बगाएपछि अहिले त्यहाँ मोडुलर पुल जडान गरिएको छ ।

मेची राजमार्गका विभिन्न खण्डमा पटक–पटक क्षति पुगेको छ भने पाँच वर्षमा मोटरेबल र झोलुङ्गे गरी ३४ वटा पुलमा क्षति पुगेको तथ्यांक छ । हेवाखोलाका अधिकांश मोटरेबल पुल बाढीले बगाएको छ । यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानका पुलहरू पनि बाढीको चपेटामा परेका छन् ।

जलवायु परिवर्तनसँगै वर्षा हुने ढाँचा फेरिँदै जाँदा पाँचथरमा बाढी–पहिरोको क्षति जारी छ । तर जोखिम न्यूनीकरणका दीर्घकालीन पूर्वतयारी र पूर्वाधार निर्माण अझै पर्याप्त हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस