‘प्रदेश सभा खारेज’ र ‘प्रदेशमन्त्री थुन्ने’ अभिव्यक्ति : सम्बन्ध के हो ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २२, सोमबार (८ घण्टा अघि)
  • ४६ पटक पढिएको
‘प्रदेश सभा खारेज’ र ‘प्रदेशमन्त्री थुन्ने’ अभिव्यक्ति : सम्बन्ध के हो ?

काठमाडौं, २२ असार। एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेज गर्ने नीति लिएको र अर्कोतिर प्रदेश मन्त्रीलाई थुन्ने अभिव्यक्ति दिँदै संघीय मन्त्री हिँडेको विषय संसद्मा उठेको छ ।

यी दुईका बीचमा के सम्बन्ध छ भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा यो विषय उठाएका हुन् ।

‘जनकपुर र झापा पुगेर वर्तमान प्रधानमन्त्रीज्यूले संघीयतालाई बलियो बनाउने चुनाव अघि भन्नुभएको थियो,’ आङ्देम्बेले भने, ‘तर रास्वपाको पहिलो महाधिवेशन स्थल चितवन पुग्दा प्रदेश सभा खारेजीको विषय कसरी बन्यो ?’

रास्वपाले ‘संघीयताको मेरुदण्ड मानिने प्रदेशसभा खारेजीको प्रस्ताव पारित गरिएको छ र त्यसलाई रास्वपाको राजनीतिक दृष्टिकोण’ भनेको भनेर उनले चुनाव अगाडिको वाचासँग कसरी मेल भयो भनी प्रश्न गरेका हुन् ।

यहाँनेर उनले पूर्वाधारमन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएको विषय स्मरण गराएका हुन् ।

‘उहाँले प्रदेशमन्त्रीलाई कारबाही गर्छु, थुन्छु भन्नुभएछ । मेयरलाई कारबाही गर्छु भन्नुभएछ । यो ग्राह्य हो ?,’ उनको प्रश्न छ ।

प्रदेशमन्त्री र मेयर जनताबाट निर्वाचित भएको भन्दै उनले कहिले खुट्टा भाँचिदिन्छु भन्ने, कहिले कारबाही गर्छु भन्ने खालका अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस