
काठमाडौं, २६ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एकै दिन नेपालका लागि भारत तथा चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उक्त भेटघाटपछि अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका केही अन्योलहरू हट्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री बालेनले अब अन्य कूटनीतिज्ञहरूसँग पनि भेटघाट गर्ने बताइएको छ । भारत र चीनका राजदूतलाई भेटिसकेपछि अब अमेरिकी राजदूतसँग भेट्ने तयारी छ । नेपालस्थित अमेरिकी दूतावास विगत आठ महिनादेखि राजदूतविहीन छ र कार्यवाहकको भरमा चलिरहेको छ । त्यसैले कार्यवाहक राजदूतलाई भेट्ने कि नयाँ राजदूतलाई पर्खिने भन्ने विषय छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ ।
चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले भेट्न चाहेका थिए । तर, उनीहरूसँग सामूहिक भेटघाट गर्दै बालेनले आफ्नो कूटनीतिक यात्रा अगाडि बढाएका थिए । प्रधानमन्त्री बालेनले नेपालमा रहेका विभिन्न देशका राजदूतहरूसँग मात्र नभई विदेशबाट आउने कुनै पनि अधिकारीहरूसँग भेट्न मानिरहेका थिएनन् ।
प्रोटोकल नमिलेको भन्दै उनले व्यक्तिगत वा छुट्टाछुट्टै भेटघाट पूर्ण रूपमा बन्द गरेका थिए । तर, साउन २५ गते उनले नेपालका लागि भारत र चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । अब अन्य राजदूतहरूसँग पनि भेट्ने उनको तयारी छ ।
चार महिनापछि प्रोटोकल तोडेर उनले राजदूतहरूसँग भेटेका हुन् । प्रधानमन्त्री बालेनले अब भारत, चीन र त्यसपछि अन्य देशका राजदूतहरूलाई भेट्ने बताइएको छ । तर, पूर्वराजदूत विजयकान्त कर्ण भन्छन्, ‘प्रधानमन्त्रीले सबैलाई भेट्नुपर्छ भन्ने छैन । आफ्नो देशको स्वार्थअनुसार मात्र भेटघाट गर्नुपर्छ, सबैलाई भेट्न आवश्यक पनि छैन ।’
‘भारतलाई भेटेपछि चीनलाई र चीनलाई भेटेपछि अमेरिकालाई भेट्नैपर्छ’ भन्ने जुन मान्यता नेपालमा छ, त्यो असान्दर्भिक रहेको उल्लेख गर्दै उनले आवश्यकता अनुसार मात्र भेट्नुपर्ने बताए । प्रधानमन्त्री बालेनले सुरु गरेको यो भेटघाट एकदमै राम्रो काम भएको उल्लेख गर्दै पूर्वराजदूत कर्णले भने, ‘यो पहिलेदेखि नै गर्नुपर्ने थियो । ढिलो भए पनि प्रधानमन्त्रीले सुरु गर्नुभयो, राम्रो गर्नुभयो ।’
चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनले चैत २५ गते राजदूतहरूलाई सामूहिक रूपमा भेटेका थिए । त्यसपछि जेठ १२ गते नेपालस्थित युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । सामूहिक भेटपछि पनि राजदूतहरूले प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेट्न चाहेका थिए, तर उनीहरूका लागि प्रधानमन्त्रीको ढोका बन्दजस्तै थियो । प्रधानमन्त्री बालेनले यसरी कसैसँग भेट्न नमानेपछि आलोचना सुरु भएको थियो भने अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिन लागेको विश्लेषण गर्न थालिएको थियो । तर, यो कदमले अब स्थितिमा केही सुधार हुने अपेक्षा गरिएको पूर्वराजदूत नीलाम्बर आचार्य बताउँछन् ।
प्रधानमन्त्रीले राजदूतहरूसँग भेटघाट गर्नु सामान्य कुरा भएको र नेपालको सन्दर्भमा यो चर्चाको विषय बन्नुको कारण भेटघाट नहुनु नै रहेको उल्लेख गर्दै उनले भने, ‘यो कुनै ठुलो विषय नै होइन । प्रधानमन्त्रीले पहिलेदेखि नै यस्तो भेटघाट राखेको भए यस्तो समस्या आउने थिएन । अब प्रधानमन्त्री यसैगरी जनतासँग पनि खुल्नुपर्यो, जनतासँग संवाद गर्नुपर्यो, सदनमा जानुपर्यो र आफ्ना कुरा राख्नुपर्यो ।’
त्यस्तै पूर्वराजदूत कर्ण थप्छन्, ‘अन्तर्राष्ट्रिय विषय यस्तो हुन्छ जहाँ जोकसैले उच्च तहमा आफ्नो कुरा राख्न चाहन्छ । दुई देशबिचका संवेदनशील विषयमा जोपाएसँग कुरा गर्न नमिल्ने भएकाले प्रधानमन्त्रीसँग नै भेट्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री बालेनले प्रोटोकलको कारण देखाउँदै भेट्न नमान्दा धेरै कुरा बिग्रिन लागेको थियो ।’
प्रधानमन्त्री बालेनलाई भारत, चीन, अमेरिकालगायतका देशबाट भ्रमणको निम्तो आएको छ, तर उनी कतै जान मानिरहेका छैनन् । अमेरिकामा हुने यूएनको महासभामा भाग लिन पनि उनी तयार देखिएका छैनन् । भारत र चीन दुवैले उनलाई पटक पटक निम्तो पठाइसकेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिनका लागि पनि उनलाई निमन्त्रणाहरू आइरहेका छन्, तर उनी आफू कतै नजाने अडानमा रहेपछि अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिने अवस्थामा पुगेको हो । पूर्वराजदूत आचार्य यसबारे थप भन्छन्, ‘अन्तर्राष्ट्रिय सम्मेलन तथा गोष्ठीहरूमा देशका प्रधानमन्त्री जानुपर्छ । त्यहाँ हुने सम्बोधनहरू विश्वभर पुग्छन् र प्रधानमन्त्री स्तरको सम्बोधनको आफ्नै अर्थ रहन्छ । त्यसैले आफ्नो आवश्यकता र अनुकूलता अनुसार जानुपर्छ ।’
प्राथमिकतामा भारत र चीन
प्रधानमन्त्री बालेनले दुई छिमेकी देश भारत र चीनलाई प्राथमिकतामा राखेर आफ्नो भेटघाट सुरु गरी ठुलो संकेत दिएको अन्तर्राष्ट्रिय मामिलाका जानकार अरुण सुवेदी बताउँछन् । भारत र चीनलाई बराबर हैसियत दिएर भेट्नुले प्रधानमन्त्री बालेनले छिमेकीहरूलाई विशेष महत्त्व दिएको संकेत गरेको उनले बताए । राजदूतहरूसँग भेटघाटको विषय सामान्य भएको र यसलाई मिडियाले ठुलो इस्यु बनाएको उल्लेख गर्दै उनी भन्छन्, ‘कोसँग कहिले र कसरी भेट्ने भन्ने कुरा भेट्ने व्यक्तिमा भर पर्छ । भेट नै भएन, भेट्न नै नचाहेको वा प्रोटोकल नमिलेका कारण नभेटेको जस्ता कुराहरू अनुमानका भरमा गरिएका हुन् जस्तो मलाई लाग्छ ।’
प्रधानमन्त्री बालेनले प्रोटोकल नमिलेका कारण अमूक व्यक्तिसँग नभेटेको भन्ने आफूलाई नलागेको बताउँदै उनले अन्तर्राष्ट्रिय परिस्थिति पहिले पनि असहज नभएको र अहिले पनि असहज नरहेको दाबी गरे ।प्रधानमन्त्री बालेनको यो भेटघाटसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार आउने अपेक्षा धेरैले गरेका छन् ।
विभिन्न देशबाट रोकिएका उच्चस्तरीय भ्रमणहरूसमेत पुनः सुरु हुन सक्ने चर्चा भइरहेको छ । पूर्वराजदूत आचार्यले राजदूतहरूसँगको भेटघाटले मात्रै सबै कुरा रातारात सही हुन्छ भन्ने नभए पनि परिस्थिति केही सहज हुन सक्ने बताए । यसरी स्थगित रहेका भेटघाटहरू सुरु भएझैँ अन्य रोकिएका कार्यक्रम तथा भ्रमणहरू पनि क्रमशः सहज बन्दै जाने विश्वास गर्न सकिने सुवेदीको भनाइ छ ।
यो भेटघाटपछि भारत र चीनबाट पनि उच्चस्तरीय भ्रमणहरू हुने बताइएको छ । भारतबाट प्रधानमन्त्री बालेनलाई यसअघि नै भ्रमणको निम्तो आइसकेको छ । आगामी सेप्टेम्बरमा हुने १८औँ ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निमन्त्रणा प्राप्त भएको छ । औपचारिक निमन्त्रणा पत्र बोकेर भारतका विदेशमन्त्री वा विदेश सचिव नेपाल आउने विषयमा छलफल भइरहेको छ ।
सम्मेलन हुन अब एक महिना मात्र बाँकी रहेकाले भारत त्यसको तयारीमा जुटेको छ । ‘विदेशमन्त्री एस जयशंकर नै आउलान् जस्तो त लाग्दैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री बालेनलाई ब्रिक्स सम्मेलनमा सहभागी गराउने प्रयास भारतको छ र सोहीअनुसार प्रारम्भिक निम्तो पनि आएको छ । तर, औपचारिक निमन्त्रणा आउन भने अझै बाँकी छ ।’
यद्यपि भारत भ्रमणमा जाने विषयमा प्रधानमन्त्री बालेन अझै तयार भइसकेको देखिएका छैनन् । परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म प्रधानमन्त्रीको भ्रमणबारे चर्चा भए पनि बालेनले खासै चासो नदेखाएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चीन भ्रमणबाट फर्किएपछि त्यहाँबाट पनि उच्चस्तरीय भ्रमण हुने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सभापति लामिछाने चीन जाने चर्चा रहे पनि मिति अझै टुंगो लागिसकेको छैन । सभापति लामिछानेले यसअघि जेठ महिनामा भारत भ्रमणमा गएका थिए ।
