
काठमाडौं, ०२ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी गतिविधि तथा सार्वजनिक सरोकारका विषयहरू आफ्नै निजी सामाजिक सञ्जाल अकाउन्टमार्फत सार्वजनिक गर्न थालेपछि त्यसको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । सरकारी सूचना तथा सन्देशहरू सरकारको आधिकारिक माध्यमबाट आउनुपर्नेमा व्यक्तिगत तथा मनिटाइजेसन भएको अकाउन्ट प्रयोग गरिनुले प्रशासनिक तथा नैतिक बहस सिर्जना गरेको हो ।
संविधानले व्यवस्था गरेका सार्वजनिक पद तथा संरचनामा पुगेका व्यक्तिहरूका गतिविधि स्वतः सार्वजनिक सरोकारका विषय बन्ने भएकाले उनीहरूले दिने अभिव्यक्ति र प्रयोग गर्ने माध्यमले राज्य सञ्चालन तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने जानकारहरू बताउँछन् । तर पछिल्लो समय डिजिटल प्ल्याटफर्ममार्फत हुने आम्दानी र व्यक्तिगत पहुँच विस्तारको प्रवृत्तिका बीच प्रधानमन्त्री स्वयंले सरकारी विषयहरू निजी अकाउन्टबाट सार्वजनिक गर्न थालेपछि यसले समाजमा गलत सन्देश जाने चिन्ता व्यक्त हुन थालेको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि हालसम्म बालेन्द्र शाहले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल अकाउन्टबाट आठ वटा फोटो तथा स्टाटस सार्वजनिक गरेको देखिन्छ । तीमध्ये दुई वटा निजी प्रयोजनका भए पनि बाँकी अधिकांश सरकारी गतिविधि, निर्णय तथा सार्वजनिक सन्देशसँग सम्बन्धित छन् ।
यसले सरकारी सूचना तथा व्यक्तिगत धारणाबीचको सीमारेखा धमिलो बनाएको भन्दै सरकारी अधिकारीहरू समेत असन्तुष्ट देखिएका छन् । नाम उल्लेख नगर्ने शर्तमा केही सरकारी अधिकारीहरूले प्रधानमन्त्रीले सार्वजनिक सूचना वा सरकारी सन्देश सार्वजनिक गर्दा सरकारका आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गर्नुपर्ने बताएका छन् ।
उनीहरूका अनुसार प्रधानमन्त्री कार्यालय वा सचिवालयले आवश्यक परे नयाँ आधिकारिक अकाउन्ट सञ्चालन गर्न सक्ने भए पनि निजी अकाउन्टबाट सरकारी सूचना आउँदा कर्मचारीदेखि सर्वसाधारणसम्म अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ ।
“कुन सूचना सरकारी हो र कुन निजी राय हो भन्ने छुट्याउनै गाह्रो भएको छ,” एक सरकारी अधिकारीले भने ।
आइटी इञ्जिनियर विशाल कार्कीले पनि प्रधानमन्त्रीको निजी अकाउन्टमार्फत सरकारी गतिविधि सार्वजनिक गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन् । उनका अनुसार प्रधानमन्त्रीको हैसियतका कारण अहिले उक्त अकाउन्टमा जनसहभागिता र पहुँच उल्लेख्य रूपमा बढेको छ ।
“पहिलेको तुलनामा अहिले उहाँको अकाउन्टमा धेरै मानिस इन्गेज भएको देखिन्छ । नागरिक प्रधानमन्त्री भनेर जोडिएका पनि हुन सक्छन्,” कार्कीले भने, “तर त्यही अकाउन्टबाट अप्रत्यक्ष रूपमा डलर आम्दानी भइरहेको अवस्थामा राज्य र सरकार प्रमुखले त्यसबारे गम्भीर बन्नुपर्दैन र ?”
प्रधानमन्त्री शाहले अप्रिल १४ मा नयाँ वर्ष २०८३ को शुभकामना सन्देश व्यक्तिगत अकाउन्टमार्फत सार्वजनिक गरेका थिए । विगतमा यस्ता अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक शुभकामना सन्देश जारी गर्ने परम्परा थियो । त्यसैगरी उनले अप्रिल १७ मा मातातीर्थ औँशी तथा अप्रिल २१ मा मच्छिन्द्रनाथ जात्राको शुभकामना पनि आफ्नै अकाउन्टबाट सार्वजनिक गरेका थिए ।
काठमाडौंमा पछिल्लो समय चर्चामा रहेको डोजर अभियानबारे व्यापक आलोचना भएपछि प्रधानमन्त्रीले त्यस विषयमा दुई वटा प्रष्टीकरण पनि निजी अकाउन्टबाटै दिएका थिए । यस्तै संसद छलेर ल्याइएका आठ वटा अध्यादेशबारे सरकारको धारणा स्पष्ट पार्न समेत व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गरिएको देखिएको छ ।
सरकारी सूचना प्रवाहका लागि आधिकारिक माध्यमभन्दा व्यक्तिगत सामाजिक सञ्जाललाई प्राथमिकता दिइनुले पारदर्शिता, संस्थागत जिम्मेवारी तथा सार्वजनिक संचार प्रणालीमाथि नै प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ ।
