बालेनको युट्युब च्यानलमा ‘काँधमाथि ज्ञानेन्द्र राजालाई…’ बोलको गीत सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (३८ मिनेट अघि)
  • २९ पटक पढिएको
बालेनको युट्युब च्यानलमा ‘काँधमाथि ज्ञानेन्द्र राजालाई…’ बोलको गीत सार्वजनिक

काठमाडौ, ११ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहको युट्यूव च्यानलमा ‘राजा ज्ञानेन्द्र’ प्रति श्रद्धाभाव प्रकट गरिएको गीत अपलोड भएको छ । तीन महिनाअगाडि नै गीत अपलोड भए पनि भर्खर मात्रै चर्चामा आएको हो ।

‘बालेन’ नामको युट्युव च्यानलमा २० फेब्रुअरी २०२४ मा यो गीत अपलोड भएको देखिन्छ । गीतको शीर्षक छ, ‘शिरमाथि नेपाल आमा’ ।

गीतका शब्दहरू यस्ता छन्ः

शिरमाथि नेपाल आमालाई

काँधमाथि ज्ञानेन्द्र राजालाई

संसारको नजरमा टल्किहाल्यो ज्योती

थरिथरि कला कोर्दै पहाड मधेश बोकी

उन्नतिका शंखधारा इन्द्रेणी झैँ गर्जन

हृदयको सुराहीमा शान्तिक्षेत्र भर्छन्

शिरमाथि….

पूर्वको मेची खोला पश्चिमको पाली

भुल्का परी फुट्न थाल्यो दुख मैलो फाली

बिर्सिएको रंग फेरि उम्लीउम्ली आयो

हाम्रो राजा शान्तिकामी नेपालले पायो

शिरमाथि नेपाल आमालाई

काँधमाथि ज्ञानेन्द्र राजालाई

गणतन्त्रका प्रधानमन्त्रीको युट्यूव च्यानलमा यसरी राजाको प्रशंसा गीत भेटिएपछि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । अधिकांश कमेन्टहरूमा बालेनलाई राजसंस्था फर्काउन अपिल गरिएको देखिन्छ । यद्यपि, यही गीतका आधारमा बालेनले राजसंस्थाप्रति रुझान देखाएको भने मान्न सकिन्न । किनकी गीत उनी आफैँले सिर्जना गरेर हालेको नभएर युट्युवले अटो जेनरेट (स्वतः सिर्जित) गरेको हो । यद्यपि, बालेनले चाहेको भए यसलाई हटाउन भने सक्थे ।

प्रधानमन्त्री बालेन्द्र शाह एक सिर्जनशील र्‍यापर पनि हुन् । उनले यो च्यानलमा आफूलाई र्‍यापर, गीतकार र म्युजिक कम्पोजरका रुपमा चिनाएका छन् । उनको च्यानलले अफिसियल आर्टिस्ट च्यानलको रुपमा मान्यता पनि पाएको छ । १३ लाखभन्दा बढी फलोअर्स भएको च्यानलमा अहिलेसम्म २५ वटा भिडिओ अपलोड भएको देखिन्छ । ‘काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत बालेन प्रधानमन्त्री बन्नुभन्दा अगाडि नै अपलोड भएको हो ।

युट्युबले बालेनलाई र्‍यापर, गीतकार र म्युजिक कम्पोजरको रूपमा चिन्छ र उनको च्यानललाई आर्टिस्ट च्यानलको रूपमा व्यवहार गर्छ । सन् २०२४/२०२५ तिर युट्युबले अफिसियल आर्टिस्ट च्यानलहरूमा ‘च्भभिबकभक’ नामको विशेष ट्याब (सेक्सन) थप्यो । यो नेपालमा पनि हालै देखिन थालेको फिचर हो । यो ट्याब सामान्य भिडिओ वा भ्लगहरूका लागि भने उपलब्ध हुँदैन । आधिकारिक सङ्गीत रिलिज (एल्बम, इपी, सिङ्गल गीत) हरूका लागि मात्र हुन्छ । यहाँ अडियो ट्रयाकहरू एल्बम कभरसहित, स्पोटिफाइ वा एप्पल म्युजिक जस्तै देखिन्छन् ।

यो ट्याब स्वचालित रूपमा भरिन्छ । कसैले हातले भिडिओ अपलोड गरेर वा ह्यासट्याग राखेर यो ट्याबमा सामग्री राख्न सक्दैनन् । बालेन (वा उनको टीम) ले डिजिटल म्युजिक डिस्ट्रिब्युटर (जस्तैः TuneCore, DistroKid, UnitedMasters, Global Music Distribution आदि) मार्फत गीत रिलिज गर्छन् । यी डिस्ट्रिब्युटरले गीतलाई स्पोटिफाइ, एप्पल म्युजिक वा युट्यूव म्युजिकलगायत सबै प्लेटफर्ममा पठाउँछन् ।

युट्युव म्युजिकमा गीत अपलोड हुँदा युट्युबको प्रणालीले स्वतः बालेनको अफिसियल आर्टिस्ट च्यानलमा “Releases” ट्याबमा तान्छ । गीतमा बालेनलाई प्राइमरी आर्टिस्ट वा फिचर्ड आर्टिस्टको रूपमा मेन्सन गरिएको अवस्थामा मात्र यो हुन्छ ।

यो प्रक्रिया स्पोटीफाइ वा एप्पल म्युजिकमा गीत रिलिज गर्दा जस्तै हो । युट्यूव म्युजिकसँग सिधै जोडिन्छ । यो नै मुख्य कारण हो जसले गर्दा पूर्वराजाको गीत मात्र होइन, एआइ जेनेरेटेड, फेक वा अन्य थुप्रै असम्बन्धित गीतहरू पनि बालेनको “Releases” ट्याबमा देखिन सक्छन् । कसैले एआई प्रयोग गरेर गीत बनाउँदा डिस्क्रिप्सन वा मेटाडेटामा ‘बालेन’ लेखिदिन्छ । डिस्ट्रिब्युटर मार्फत रिलिज गर्दा ‘बालेन’ लाई आर्टिस्टको रूपमा ट्याग गरिदिन्छ । युट्युबको प्रणालीले स्वचालित रूपमा त्यसलाई बालेनको च्यानलमा जोडिदिन्छ ।

रिलिजमा आएर बसेका असम्बन्धित कन्टेन्ट हटाउन बालेनले YouTube Studio को “Releases” ट्याबबाट रिक्वेस्ट रिमुभल गर्न सक्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस