बीएको आंशिक परीक्षा ढिलाइले त्रिविका विद्यार्थी समस्यामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २१, बिहिबार (९ घण्टा अघि)
  • ४३ पटक पढिएको
बीएको आंशिक परीक्षा ढिलाइले त्रिविका विद्यार्थी समस्यामा

काठमाडौं, २१ साउन। त्रिभुवन विश्वविद्यालयको ३ वर्षे (२०८१) बीएको परीक्षा फारम २०८२ भदौ र कात्तिकमा भरियो । भदौमा जेनजी आन्दोलनका कारण फारम भर्न विद्यार्थी छुटेका कारण कात्तिकमा दोस्रो पटक भराइयो ।

तर, फारम छिटो भरे पनि परीक्षा ढिला हुँदा थप अध्ययनमा असर परेको गुनासो विद्यार्थीहरूले गरेका छन् । २०८३ वैशाख ३ गते परीक्षा तालिका सार्वजनिक भयो । र, जेठ १८ गते देखि २७ गतेसम्म परीक्षा सञ्चालन भयो ।

‘ढिला गरी परीक्षा भयो । थप अध्ययन गर्न ढिला भएकाले छिटो नतिजा सार्वजनिक गर्न माग गरेका हौँ,’ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी योगराज दाहालले भने ।

आंशिक र मौका दिएका विद्यार्थीको परीक्षा एकैसाथ गरिएको थियो । ‘आंशिक र मौका परीक्षामा २ हजार ४३० विद्यार्थीको नतिजा अझै नआउँदा उच्च शिक्षा अध्ययन, रोजगारी, प्रवेश परीक्षा दिनबाट वञ्चित भएका छौँ,’ उनले गुनासो गरे, ‘म आंशिकतर्फको विद्यार्थी हुँ । नतिजा सार्वजनिक नहुँदा एलएलबी अध्ययनको प्रवेश परीक्षा दिन पाएको छैन । कोभिड कालदेखि नै परीक्षा ढिला भएका कारण आंशिकतर्फका विद्यार्थी थप मारमा परेका छन् ।’

प्रथम वर्षको अंग्रेजी बाहेकका विषय उत्तीर्ण भए पनि एउटा विषयको नतिजा सार्वजनिक नहुँदा एलएलबी पढ्ने अवसरबाट वञ्चित हुने अवस्था आएको उनको गुनासो छ । ‘फारम भरेको एक वर्षपछि परीक्षा भयो । त्यसैले असार मसान्तभित्र नतिजा सार्वजनिक गर्न माग गरेका थियौं तर सार्वजनिक भएन,’ उनले भने ।

उनले मात्र होइन, मौका परीक्षा दिएका विद्यार्थी पनि नतिजाको पर्खाइमा छन् । छिटो नतिजाको माग गर्दै विद्यार्थीहरूले २३ वटा निकायमा निवदेनसमेत दिएका छन् । ‘त्रिविका सबै निकाय र हेलो सरकारसम्म उजुरी दिएका छौँ,’ दाहालले भने ।

त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुले नतिजा छिट्टै सार्वजनिक गर्नेगरी काम भइरहेको बताएको छ । ‘आंशिक र मौका परीक्षा एकै पटक गरिएको थियो । ३ हजार २०० जति विषय छन् । उत्तरपुस्तिका परीक्षण भएर आएको छ,’ परीक्षा नियन्त्रण कार्यालयका प्रवक्ता कविराज पौडेलले भने, ‘अबको दुई हप्ताभित्र नतिजा सार्वजनिक हुन्छ ।’

धेरै अगाडिका विद्यार्थीलाई एक पटकको लागि मौका परीक्षा दिने व्यवस्था मिलाइएकाले विषय पनि धेरै भएको हो । ‘छिटो नतिजा सार्वजनिक गर्न विद्यार्थीको गुनासो आएको छ । अब भदौ पहिलो हप्तामा नतिजा आउँछ,’ उनले भने, ‘नतिजामा कुनै ढिलाइ भएको छैन । पनिकाले समयमा नै नतिजा सार्वजनिक गर्छ ।’

अबदेखि ६० दिनमा नतिजा

कक्षा, परीक्षा र नतिजामा ढिलाइ भएको गुनासो आएपछि सरकारले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर बनाएको छ । जसमा परीक्षा सम्पन्न भएको मितिले ६० दिनभित्र र अन्तिम सेमेस्टरको परीक्षाफल परीक्षा सकिएको ३० दिनभित्र सार्वजनिक गर्ने निर्णय भएको छ । यसअघि नतिजा १०० दिनभित्र सार्वजनिक गर्ने गरिएको थियो ।

राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयलाई परिपत्र गरिसेकेको छ । ‘क्यालेन्डर कार्यान्वयन गर्न पत्रचार भइसकेको छ,’ विश्वविद्यालय अनुदानन आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीले भने ।

सरकारको १०० बुँदे शासकीय सुधारको कार्यक्रमको ८७ नम्बरमा मन्त्रालयले क्यालेन्डर बनाउने उल्लेख थियो । ‘विश्वविद्यालयहरूबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको क्यालेन्डरअनुसार निकाल्ने,’ उक्त बुँदामा भनिएको छ । सोहीअनुसार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षाको राष्ट्रिय क्यालेन्डर लागु गरेका हुन् ।

मन्त्री पोखरेलले निर्णय गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डरमा प्रवेश परीक्षा साउनमा, विद्यार्थी भर्ना भदौभित्र र पठनपाठन भदौबाट नै सुरु गरिने उल्लेख छ । पठनपाठनको अवधि पनि तोकिएको छ । वार्षिक प्रणालीको पठनपाठन २०८३ भदौबाट ०८४ वैशाखसम्म र सेमेस्टर प्रणालीको २०८३ भदौबाट ०८३ माघसम्म हुने भनिएको छ । अन्तिम परीक्षा वार्षिक प्रणालीको जेठमा र सेमेस्टर प्रणालीको माघमा हुने उल्लेख छ ।

परीक्षा सकिएपछि साउनमा नतिजा सार्वजनिक गर्ने क्यालेन्डरमा उल्लेख गरिएको छ ।

क्यालेन्डरअनुसार प्रवेश परीक्षाको नतिजा परीक्षा भएको एक सातामा सार्वजनिक गर्नुपर्ने भएको छ । विश्वविद्यालयले स्नातकको परीक्षाफल प्रकाशित भएको मितिले ३० देखि ४५ दिनभित्र भर्ना गरी पठनपाठन सञ्चालन गर्नु पर्नेछ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको राष्ट्रिय क्यालेन्डरलाई कडाइका साथ लागु गराउने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस