
काठमाडौँ , ०२ साउन। नेपाली कांग्रेसले संस्थापन नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा जलवायुसम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ साउनमा दौड प्रतियोगितासँगै ‘प्यानल डिस्कसन’ र लाइभ ‘पेन्टिङ’ कार्यक्रम गर्ने भएको हो ।
बीपी स्मृति दिवसमा ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ हुने दौड ५ किलोमिटर दौड प्रतियोगिता आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाले जानकारी दिए ।
उनका अनुसार बिहान ६ ललितपुर यूएन पार्कदेखि जावलाखेलसम्म प्रतिस्पर्धात्मकसँगै सहभागितामुलक दौड प्रतियोगिता हुनेछ ।
दौडपछि बिहान ७ बजे जावलाखेल चोकमा ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी’ विषयक ‘प्यानल डिस्कसन’ हुने दुलालले बताए ।
उनका अनुसार ‘प्यानल डिस्कसन’ चलिरहँदा सोही स्थलमै चित्रकारहरूद्वारा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरू ‘लाइभ’ कोरिने छन् ।
