बोधिचित्तका लागि भिड, काभ्रेका बगैंचामा विवाद र चोरी दोहोरियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ८, शुक्रबार (१६ घण्टा अघि)
  • ४४ पटक पढिएको
बोधिचित्तका लागि भिड, काभ्रेका बगैंचामा विवाद र चोरी दोहोरियो

काठमाडौँ , ०८ साउन। राम्रो आम्दानी दिने नगदे बालीका रूपमा स्थापित हुँदै गएको बोधिचित्त (बुद्धचित्त) को दाना टिप्ने सिजन सुरु भएको छ । तर, काभ्रेपलाञ्चोकमा भने हरेक वर्ष जस्तै यस वर्ष पनि बोधिचित्त चोरी, विवाद र झगडाका घटना भएका छन् ।

यो बोधिचित्तसँग जोडिएका दर्जन बढी घटना भइसकेका छन् । दानाको मूल्य उच्च भएकाले बगैंचा धनी र व्यापारीबीच हुने विवाद, व्यापारी–व्यापारीबीच हुने विवाद र बगैंचा धनीहरूको विवादले सुरक्षा चुनौतीसमेत थपिएको छ ।

यस वर्ष जेठ २० गतेदेखि असार २५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा बोधिचित्त चोरीका घटना भए । धुलिखेल, पनौती, पाँचखाल, भुम्लु, मण्डनदेउपुर र रोशी गाउँपालिकाका किसानहरू चोरीबाट प्रभावित भएका छन् । कतिपय स्थानमा रुख काटेर दाना लगिएको छ भने कतै रातिको समयमा मोटरसाइकल प्रयोग गरेर चोरी गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रविन विष्टका अनुसार यो सिजनमा मात्र बुद्धचित्तसँग सम्बन्धित दर्जन बढी घटना घटेका छन् । उनका अनुसार जिल्लाको ८ स्थानमा बोचिचित्तको बोटबाटै दाना चोरी भएको छ ।

असार १३ गते पाँचखाल नगरपालिका–१ अनेकोटमा कुलमान तामाङको बोट बीच भागमा काटेर दाना चोरी भएको छ । अहिलेसम्म कसले काटेर दाना चोर्‍यो भन्ने पत्ता लाग्न सकेको छैन ।

सो दिन नै भुम्लु गाउँपालिका–४ पिनालेमा जनकबहादुर खत्रीको बारीमा भएको बोधिचित्त मालाको दाना चोरी भयो । अन्दाजी ५ लाख बराबरको उक्त माला मोटरसाइकलमा गएका व्यक्तिहरूले चोरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

त्यस्तै, असार २१ गते भुम्लु–५ कम्राङ टोलका सुमन लामाको बोधिचित्तको दाना चोरी भएको छ ।

असार २१ मै मण्डनदेउपुर–१ डाँडागाउँका सानुकान्छा तामाङको बोधिचित्तको माला चोरी भएको छ । असार २४ गते मन्डनदेउपुर–२ चित्लेका अक्कलबहादुर तामाङको बारीमा रहेको बोधिचित्तको  माला चोरी भयो भने असार २५ गते रोशी–९ रजवासका मनोरथ भुर्तेलको बोधिचित्त चोरी भएको प्रहरी रेकर्डमा छ ।

त्यस्तै, असार ७ गते पनौती नगरपालिका–११ बल्थली पल्लोडाँडा बस्ने सूर्यकुमार तामाङको बोधिचित्त चोरी भयो भने जेठ २० गते धुलिखेल १ मितिन्छाप बस्ने अजय तामाङको एक पाथी जति माला चोरी भएको प्रहरीले जनाएको छ ।

जेठ ३० गते धुलिखेल–९ मा रहेको अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङको टोलीले चेक जाँच गर्ने क्रममा बुद्धचित्तसहित २ जना पक्राउ परेका थिए ।

दाना चोरी मात्र होइन, विभिन्न स्थानमा दाना टिप्ने विषयमा विवादसमेत भएको छ । दाना टिप्ने विषयमा विवाद हुँदा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चार स्थानमा १६ जना प्रहरी परिचालन गरेको थियो ।

प्रहरीका अनुसार धुलिखेल नगरपालिका–८ कि कृष्णकुमारी बडाल, रोशी गाउँपालिका–११ का मोहनबहादुर रायमाझी, रोशी–५ लुर्पुङका आइतेसिं थिङ, धावा थिङ र जेनीसिं थिङ तथा रोशी–६ का शेरबहादुर तामाङको बारीमा दाना टिप्ने अधिकारलाई लिएर विवाद भएपछि सुरक्षा व्यवस्था मिलाइएको हो ।

सूचना अधिकारी एवं डीएसपी विष्टका अनुसार धुलिखेल नगरपालिका–८ मा श्रीमान्–श्रीमतीको विवादका कारण बुद्धचित्तको बोटमा नै सुरक्षा प्रदान गर्नु परेको थियो ।

‘श्रीमान्–श्रीमती छुट्टाछुट्टै बसेका रहेछन् । उनीहरूले बोटबौ दाना बिक्रीका लागि छुट्टाछुट्टै सम्झौता गरेका रहेछन् । पछि दाना कसले टिप्ने भन्ने विषयमा विवाद भएपछि प्रहरीमा निवेदन आयो सुरक्षाको लागि । अदालतसम्मै मुद्दा पुग्यो । पछि श्रीमान्ले मुद्दा जिते र माला टिपेर बेचे । नबेचुन्जेल हामीले सुरक्षा दियौं,’ सूचना अधिकारी विष्टले भने ।

रोशी–११ का रायमाझीको माला किन्नेमध्येका पार्टनरबीचको विवादका कारण सुरक्षा दिइएको थियो भने रोशी–५ लुर्पुङको बुद्धचित्त बोट धनी तीन जनाले छुट्टाछुट्टै कागज गरेर बेचेको कारण विवाद बढेकोले प्रहरीले सुरक्षा दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी विष्टका अनुसार बोट धनी या माला किन्ने व्यवसायीले सुरक्षा मागेको स्थानमा मात्र सुरक्षा दिइएको उनको भनाइ छ ।

‘बोधिचित्तको मूल्य बढ्दै जाँदा पहिले नै व्यापारीसँग भएको खरिद–बिक्री सम्झौता तोडेर बढी मूल्य दिने अर्को व्यापारीलाई बिक्री गर्न खोज्ने प्रवृत्तिका कारण हरेक वर्ष यस्ता विवाद दोहोरिने गरेको छ,’ डीएसपी विष्टले भने ।

चोरी भएका ९ घटनामध्ये प्रहरीले दुई वटा चोरीमा संलग्नलाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–१ की कान्छी तामाङको करिब सात लाख रुपैयाँ बराबरको बोधिचित्तको दाना चोरी गरेको आरोपमा सोही स्थानका फुर्साङ तामाङ, रोज तामाङ र फुर्बा तामाङलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।

त्यसैगरी, मण्डनदेउपुर नगरपालिका–१२ का सुनबहादुर तामाङको करिब पाँच लाख रुपैयाँ बराबरको दाना चोरी गरेको आरोपमा सम्राट कामी र भुम्लु गाउँपालिका–६ का कुमार कामीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका बोधिचित्त खेतीका प्रमुख क्षेत्र मानिन्छन् । पछिल्ला वर्षहरूमा यसको राम्रो बजार मूल्यका कारण जिल्लाका अन्य स्थानीय तहमा पनि बोधिचित्त खेती विस्तार हुँदै गएको छ । उत्पादनसँगै यसको व्यापार बढे पनि दाना टिप्ने अधिकार, खरिद सम्झौता र चोरीका घटनाले भने हरेक वर्ष सुरक्षा चुनौती दोहोरिँदै आएको छ ।

बौद्धमार्गीहरूले औधी रुचाउने बुद्धचित्तको दाना संकलन तथा प्रशोधन गर्ने समय असारदेखि सुरु भएर असोजसम्म रहन्छ । चीनमा यसको अत्यधिक माग भएपछि व्यपारीहरूले स्थानीयको बोटमै गएर टिप्नु अगावै मूल्य तिरिरहेका छन् ।

व्यापारीले यसको दाना र माला चीनको तिब्बत र भारत बोधगयामा बेच्ने गरेका छन् । यसको दाना कि सानो हुनुपर्छ कि मुखेअनुसार फरकफरक मूल्य हुन्छ । एक मालामा १०८ वटा उन्दा राम्रो खालको माला बन्यो भने न्यूनतम ३० हजार देखि अधिकतम ८ लाखसम्म मूल्य आउने व्यवसायीको भनाइ छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस