
दाङ, १९ साउन। दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्सट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का, कम्पनीका प्रतिनिधि विरास पुन र सगुन कन्सट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि (बुटवल) विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ मा वडा नम्बर १ र २ का विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डरमा एक करोड ४१ लाख ५० हजार रुपैयाँ सगुन कन्स्ट्रक्सनलाई राजस्व छुट दिएर सरकारी सम्पत्ति हानिनोक्सानी पुर्याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
